१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक


५ माघ, काठमाडाैँ । जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ ।

त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने  प्राधिकरणको सूचनामा उल्लेख छ । प्रत्येक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जनाएकाे छ ।

सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । जुम्लावासीले स्थानीय साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बाल्दै आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १२:१८