११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सालको काठ तस्करीमा संलग्न नेकपा नुवाकोटका नेतासहित सात पक्राउ


५ माघ, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो ।

पक्राउ पर्नेमा बेलकोटगढी ५ का गणेश दर्लामी, दिपेन्द्र थापामगर,दिनेश मगर, टीकाराम दर्लामी, सुमन भुजेल, गोपाल मगर र सुजन दर्लामी रहेका छन । पक्राउ परेका मध्ये दिपेन्द्र थापा मगर बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडा सदस्य हुन । उनी तत्कालीन एमालेको उम्मेदवार भएर वडा सदस्यमा विजयी भएका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ ।

काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ३ उल्लेखित ०१–०२४ च ४२७० नंको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कारवाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोटमार्फत कारवाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १०:०२