८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्यावास ओली सरकारः अब हात हातमै सरकारी सेवा, सबैले प्रयोग गराैँ नागरिक एप


२ माघ, काठमाडाैँ । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गर्नुभयो । नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उहाँको भनाई छ ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनार्ईएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानी मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । ३ वर्षपछि यसले पूर्णता पाएको हो । प्रधानमन्त्रील केपी शर्मा ओली नेतृत्वको सरकारले डिजिटल नेपाल बनाउनका लागि प्रविधिमैत्री सेवामा जोड दिँदै आएको छ ।

एपका बारेमा सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ ।

सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल बनाउन नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा आजैबाट बेटा भर्सन शुभारम्भ भएको घोषणा गर्दछु ।

नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत् सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन सबैमा हार्दिक अनुरोध गर्दछु । नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकिकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य वमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ । यस एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ ।

“लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिनेछ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताल प्लेस्टोरमा र आइफोन प्रयोगकर्ताल एप्पलस्टोरबाट बाट नागरिक एप डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेबमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु एकीकृत तथा अन्तरआवद्ध गरी सहज र प्रविधिमैंत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइने उद्देश्य अनुरुप एउटा कार्यको रुपमा नागरिक एप सार्वजनिक गरिएको हो ।

एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने छ । हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपवाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुनेछ । यो नागरिक एप प्रयोग गर्ने कार्यविधि सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार २०:३८