४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

दुर्घटना बढेसँगै ललितपुरकाे सडकमा स्पिड ब्रेकर भत्काइयो


२ माघ, काठमाण्डौ । दुर्घटनाबढेसँगै ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाउन थालेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको निर्देशनपछि नगर प्रहरीले सडकमा राखिएका ब्रेकर हटाउन थालेको हो। स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिकजसो दुर्घटना हुने गरेको भन्दै महानगरले हटाउन सुरू गरेको हो।

जथाभावी राखिएका स्पिड ब्रेकरले दैनिक दुर्घटना भएको भन्दै महानगरमा गुनासो आएपछि यसलाई हटाउने निर्णय गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। ‘नगरका भित्री बाटोमा छोटो दूरीमा नै धेरै वटा स्पिड ब्रेकर भएकाले यसले सडक दुर्घटना बढाएका छन्। आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ’, नगर प्रमुख महर्जनले भने, ‘नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने हाम्रो योजना छ।’स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने, सवारी व्यवस्थापन चुस्त र दुरूस्त राख्न महानगरपालिकाले नगरप्रहरी खटाएको छ।


सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि यसलाई ट्राफिक प्रहरीसँग समन्वय गरेर नमूना सहर निर्माणमा महानगर सधै तयार रहेको नगरप्रमुख महर्जनले जानकारी दिए। यसैबिच नगरपालिकाका सार्वजनिक सडकमा अब स्पिड ब्रेकर नरहने नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए। सडकमा बनाइएका यस्ता ब्रेकरले दुर्घटना कम गर्नेभन्दा पनि दुर्घटना बढाएको निष्कर्षपछि यसको विकल्प खोजिएको उनले जानकारी दिए।

‘स्पिड ब्रेकरको ठाउँमा स्पिड कम गर्न सूचना, सडक बत्ति, रबरको कोण वा डिभाइडर राख्न सकिन्छ’, हाछेथूले भने, ‘ब्रेकरले यात्रुलाई असहज हुने र सवारी साधानमा समेत क्षति पुग्ने भएकाले हटाउन थालिएको हो।’सवारीको तिब्र गति रोक्न भनेर बनाइएका स्पिड ब्रेकरले दुर्घटना बढाएको नगर प्रहरीको निष्कर्ष छ। पछिल्लो समय सवारी साधनको तिब्र गति रोक्न भन्दै सडकमा ८(९ इन्चसम्मको उचाई र २ मिटरसम्मको चौडाईका स्पिड ब्रेकर राखेको पाइएको छ। यसरी सडकमै राखिएको पिच वा ढलान गरेर बनाइएको स्पिड ब्रेकरले दुर्घटना घटाउने नभएर बढाउने देखिएको छ।

‘सार्वजनिक स्थान, कलेज गेट अगाडि, पार्किङ क्षेत्र, हाउजिङ, ठूला ठूला कर्पोरेट अफिस अगाडि साढे २ इन्चसम्मको रबरको स्पिड ब्रेकर राखिएको हुन्छ। तर नेपालका अधिकांश सहरी र ग्रामिण भेगमा भित्री बाटोमा यसरी जथाभावी रूपमा स्पीड ब्रेकर राखिने गरिएको छ’, हाछेथुले भने, ‘यसले सवारी गति नियन्त्रण गर्नुको सट्टा मानिसहरूलाई मात्र छेकबार लगाएको जस्तो देखिएको छ।’

एक सुरमा चलाइरहेको मोटरसाइकल अचानक स्पिड ब्रेकरमा पुग्दा लगाएको ब्रेकले दुर्घटना बढेको छ। ‘ब्रेक नलगाए पनि उफ्रेर सडकमै बजारिने हुन्छ। झन पछाडि बस्ने यात्रीका लागि त खतरा बढी हुन्छ’, उनले भने, ‘पछाडि बस्ने यात्रुको ढाड भाँचिने र मृत्युसमेत हुने गरेको छ।’

उचाईको कारण साना साना गाडीको तलको भाग छुने र दुर्घटना हुने गर्छ। स्कुल तथा कलेजका ठूला बसका विद्यार्थी र अन्यको पनि उफ्रदा टाउको ठोकिने हुन्छ। अचानक ब्रेकर देखेर ब्रेक लगाउँदा पछाडिबाट आइरहेको सवारीले ठक्कर दिएर दखुर्घटना समेत हुने गरेको छ।

यस्तै ब्रेकर छलेर बाङ्गो पारेर सडकमा सवारी चलाउँदा विपरित दिशाबाट आएको सवारीले ठक्कर दिन ठूलो दुर्घटना हुँदै आएको छ। रातको समयमा ठूला मालबाहक सवारीले ब्रेकरलाई ध्यान नदिएर सवारी चलाउँदा ठूलो आवाज आउनुका साथै निर्माणका सामाग्री बोकेका ट्रकबाट समानहरू खस्ने सम्भावना रहन्छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १२:५८