१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बैतडीमा चितुवाको आक्रमणबाट छ वर्षमा एकै गाउँका २३ जनाको मृत्यु


१५ फागुन, बैतडी । चितुवाको आक्रमणबाट बैतडीको एकै क्षेत्रमा २३ जनाको ज्यान गएको छ । स्थानीय वीरेन्द्र महताको अनुसार जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा गत ६ वर्षकोबीचमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गएको हो । महताले राज्यसँग सुरक्षाको लागि पटकपटक हारगुहार गरे पनि चासो नदिएको गुनासो गरे ।

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो ।

त्यस क्षेत्रमा चितुवाले बालबालिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ । यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका छन ।

घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ रहेको छ ।

घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार विहान सेती अञ्चल अस्पताल, धनगढी रिफर गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०८:४८