१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काभ्रेमा मिनी फिल्मी सिटीको निर्माण प्रक्रिया सुरु, पूर्व संचारमन्त्री बाँस्कोटाले गरे अनुगमन


१ माघ, काठमाण्डौ । काभ्रेको बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित डाँडामा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकनस्थलका लागि छनोट गरिएको जमिनको अनुगमन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले फिल्म सिटिले काभ्रेको पहिचान अब्बल हुने बताउनु भएको छ । काभ्रेको बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायांकनस्थल निर्माणार्थ प्रक्रिया थालिएको छ।

यसका लागि वातारणीय प्रभाव मूल्यांकन र ईआईए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ। बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।

भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’, उनले भने। अध्यक्ष दाहालका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायांकन स्टुडियो निर्माण हुनेछ।इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए।

आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ।

‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्यांकन गर्नुपर्ने काम अघि बढाइएको हो। स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। ‘बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो’, उनले भने।

चलचित्र छायांकन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो। बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायांकन स्टुडियोको डीपीआर बनाई काम शुरु गरिने जनाइएको छ। ‘नेपालमा हाल अत्याधुनिक छायांकन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायांकन स्टुडियोको अवधारणा ल्याएका हौँ’, अध्यक्ष दाहालले भने। राजधानीबाट काभ्रे आवत जावत गर्न यातायातको सहज पहुँच छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १६:३६