११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

ज्यानामारा मुद्दामा वडाअध्यक्ष पुन पक्राउ


१ माघ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पुनलाई हिजो अपराह्न ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

प्रतिकात्मक तस्बिर ।

विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।  विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १४:५३