८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पर्यटनमन्त्री ढकालद्वारा गाैतमबुद्ध विमानस्थलको निरीक्षण, तोकिएको समयमै काम सक्न निर्देशन


२९ पुस, भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस क्षेत्रमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरिक्षण गर्दै कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन् । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, लुम्बिनी गुरुयोजनालयगायतका विभिन्न आयोजनाको बुधबार निरिक्षण गर्दै मन्त्री ढकालले बजेटको अभाव नहुने र सरकारबाट गर्नुपर्ने सहयोगमा पनि कुनै कसुर बाँकी नरहने भन्दै तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए ।

मन्त्री ढकालले बुधबारै बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल–बेलहिया व्यापारिक मार्गको पनि अवलोकन गर्दै निर्माणकार्यमा हुने ढिलाई र अलमल अब स्वीकार्य नहुने बताए । उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्था बारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए ।

विमानस्थलको निरिक्षण पछि मन्त्री ढकाल बुटवल–बेलहिया व्यापारिक मार्ग हुँदै बुटवल पुगेका थिए । बुटवलमा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको माघी पर्व विशेष कार्यक्रममा समेत सहभागी भएका मन्त्री सैनामैना–सूर्यपुरा सडकको निरिक्षण गर्दै बुधबारै लुम्बिनी पुगेका छन् । लुम्बिनीमा मन्त्री ढकाललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईसहति लुम्बिनी विकास कोषको टोलीले स्वागत गर्दै लुम्बिनी गुरुयोजनाका प्रगतिका बारेमा संक्षिप्त जानकारी गराएको थियो ।

भैरहवाको उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिरहेको छ । चालु महिनामै निर्माण सक्ने लक्ष्य रहेपनि ढिलाई भइरहेका बेला विभागीय मन्त्रीले प्राविधिकसहितको टोली लिएर विमानस्थलको कार्यप्रगति बुझ्न भैरहवामा आएका हुन् । विमानस्थलको निर्माणकार्यको अवस्था बुझेपछि उनले कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए । बिमानस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री ढकालले प्राबिधिक मात्र अब बाँकी रहेको हुनाले आयोजनाले बिमानस्थल छिटो पुरा गर्न र आवश्यक सहयोगका लागि नेपाल सरकार तयार भएको बताएका हुन् ।

‘कोरोनाको बहाना अब चल्दैन’
‘कोरोनाका कारण अन्तर्राष्ट्रिय बिमानस्थल ढीला भन्नु बाहाना मात्रै हो, हामी अब काम अन्तीम चरणमा छौँ’ मन्त्री ढकालले भने–‘बाहिरबाट आउनुपर्ने प्राबिधिक जनशक्ति आउनुपर्यो आउनु कुरा प्रतिकुलता छ भन्ने कुरा छ लम्बिराखेको हुनाले तर यो प्रतिकुलता हो कि बाहाना हो ?’ कोरोनाको बहाना देखाउँदै निर्माणकार्य लम्ब्याउने कुरा अब स्वीकार नहुने मन्त्री ढकालको स्पष्टोक्ती थियो । उनले कुनै पनि समस्या आइपरेमा सरकारले समन्वय गर्ने र समाधानको तत्कालै पहल गर्नेपनि बताए ।

‘काम गरौँ कि भन्यो भने हाम्रो हातमा छैन, जुन मितिमा आउने भन्नु भएको छ त्यो मिति देखि काम गरौँ अब बिलम्ब नगरौँ, मन्त्री ढकालको भनाइ थियो । विमानस्थललगायत यहाँ निर्माण भइरहेका राष्ट्रिय गौरवका कुनै पनि आयोजनालाई कुनै पनि बहानामा ढिलाई नगर्न मन्त्री ढकालको निर्देशन थियो । मन्त्री ढकालले अर्थमन्त्री विष्णुप्रसाद पौडेल यहीँ जिल्लाको भएकाले गौरवका आयोजनाका लागि बजेटको कुनै पनि अभाव नहुने बताए ।

समुदायको अपनत्व हुने छ
मन्त्री ढकालले राष्ट्रिय गौरवका कुनै पनि आयोजनामा स्थानीय समुदायको अपनत्व हुने स्पष्ट पारे । अन्तर्राष्ट्रिय बिमानस्थलको बैधानिकताको कुरा पनि भएको हुनाले स्थानीय योगदान गर्नेहरुलाई कुनै पिरमर्का नपर्ने मन्त्री ढकालले बताए । समस्याको समाधान पनि राज्यले थप गर्नुपर्ने काम पनि गर्ने र स्थानीयको उचित समाधान गर्न सरकार तयार रहेको गर्व गर्ने अनुभूति हुने गरि काम सरकारले थालेको मन्त्री ढकालले बताए ।

निर्माधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले आर्थिक वर्ष ०७५।७६ मा ७४ प्रतिशत, ७६।७७ मा ९१ प्रतिशत र आर्थिक वर्ष ७७।७८ मा ९३.८ प्रतिशत बिमानस्थलको प्रगति रहेको बताए । उनले बीचमा कोरोनाका कारणले निर्माणकार्यमा केही विलम्ब भएको उल्लेख गर्दै अब त्यो समस्याको पनि समाधान भइरहेकाले निर्माणकार्यमा ढिलाई नहुने स्पष्ट पारेका थिए । विमानस्थलमा उपकरण जडानलगायतका प्राविधिक काम अहिले चलिरहेका छन् । यी बाहेक संरचना निर्माणका काम भने लगभग पूरा भइसकेका छन् ।

   

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १९:३९