१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नागरिकको विश्वास गुम्न दिन्नः नारायणप्रसाद खतिवडा, सांसद


चुनाव जित्नुभयो के गर्दै हुनुहुन्छ ?
भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएसँगै हामी मतदातालाई धन्यवाद दिनको लागि एक पटक नागरिकहरुको घरदैलोमा पुगिरहेका छाँै । हामीले बाम गठबन्धन बनाएर चुनावमा जनतासँग मत माग्दा नुवाकोटवासी मतदाताले जुनरुपमा हामीलाई विश्वास गर्नुभयो, नुवाकोट र नेपालमा अव बामपन्थीहरुले मात्रै समृद्ध समाज निर्माण गर्न सक्छन् भन्ने विश्वासका साथ मतदान गर्नुभयो । त्यसैले उहाँहरुसँग सामान्य भेटघाट र धन्यवाद दिने क्रममा छौँ ।

परिणाम अपेक्षा अनुसारकै भयो कि केही फरक पाउनुभयो ?
परिणाम अपेक्षाकृत नै थियो । जे हुनुपर्ने थियो त्यही भयो । नुवाकोटमा हामी दुई बामपन्थी मिल्दा यो निर्वाचन हाम्रो पक्षमा आउँछ भन्ने थियो, हाम्रो अपेक्षा पनि यही थियो । यहाँलाई थाहा नै छ, नुवाकोटमा दुवै गठबन्धनको तर्फका कार्यकर्ताहरु इमान्दारिता प्रस्तुत गरेर देखाएका छन् । कम्युनिष्ट कार्यकर्ता समृद्धि, शान्ति र रोजगारीको लागि एक जुट हुन्छन् भन्ने प्रमाण हो यो । त्यसैले परिणाम अपेक्षा गरे अनुसारकै थियो ।


जनताको मत जित्ने काम कतिको सहज रहेछ ?
होइन, हामीलाई नुवाकोटवासीले धेरै माया गर्नुहुन्छ । कम्युनिष्ट सरकारले देखाएको सही बाटोका कारण हामीप्रति नागरिकहरुको विश्वास छ । कम्युनिष्ट सरकारहरुले नेपालमा सामाजिक सुधारका धेरै कार्यक्रमहरु सञ्चालन गरेका छन् । त्यो कार्यक्रमहरु वृद्धभत्ता, आफ्नो गाउँ आफैं बनाउलगायतका थुप्रै कार्यक्रमहरु रहेका छन् । त्यसकारण हामी यस पटक निर्वाचनमा सफल हुन्छाँै भन्नेमा थियौ । त्यसमाथि नेपालका दुई कम्युनिष्ट पार्टी एक भएर आउँदा हाम्रो जनमत बलियो थियो । नागरिकहरुमा हामीहरुप्रति विश्वास अझै प्रगाढ र निरन्तरता हुने खालको थियो । नागरिकहरुको चाहना नेपालका कम्युनिष्ट पार्टीहरु मिलेर देशमा सरकार चलाए हुन्थ्यो भन्ने थियो । त्यसकारण पनि हामीलाई जनताको मन जित्न सहज भयो । नुवाकोटमा हाम्रो प्रतिष्पर्धी पार्टीका नेताहरु पञ्चायतकालदेखि अहिलेसम्म एउटै नेता फरक फरक पात्र भएर निर्वाचनमा पटक पटक उठिरहँदा पनि हामीलाई यो संग्राम जित्न सफलता मिलेको भन्ने मलाई लाग्छ ।

चुनाव जितिसकेपछि के योजना बनाउनुभएको छ ?
भर्खरै मतपरिणाम सार्वजनिक भएर हामी भेटघाट र मतदातालाई धन्यवाद दिने क्रममा रहेका छौँ । हामी हाम्रो गठबन्धनको केन्द्रले बनाएको मार्गनिर्देश, निति र सिद्धान्तको आधारमा अघि बढ्छाँै । हामीले नुवाकोटको विकासलाई भुगोल अनुसार विकासका योजना बनाउनेछौँ । यहाँ थुप्रै सम्भावनाहरु रहेका छन् । कृषिको आधुनिकीकरण, युवालाई रोजगार, उद्योग, कलकारखाना स्थापना गर्नु आवश्यक छ । यसको लागि पनि हामीले भुगोल अनुसार कुन स्थानमा कस्तो उद्योग सुहाँउछ, कस्तो उद्योग फस्टाउँछ त्यो अनुसार परिचालन गर्नु आवश्यक छ । विदेशमा पसिना वगाउने ठूलो जनशक्तिलाई यहीको स्रोत र साधनहरुबाट स्वरोजगार बनाउने योजना ल्याउनु हामीमाझ चुनौती छ । पर्यटनको विकास कसरी हुन्छ हामी त्यसतर्फ सोचिरहेका छौँ । भुकम्पबाट प्रभावित नागरिकहरुलाइ कसरी राहत दिन सकिन्छ हाम्रो ध्यान त्यता पनि जानु आवश्यक छ । यहाँ थुप्रै राष्ट्रिय महत्व बोकेका योजनाहरु सुरु भएका छन् यी योजनाहरुलाई छिटो, छरितो र समयमै निर्माण सम्पन्न गराउनुपर्ने छ । जिल्लामा ग्रामीण सडकहरुको संख्या धेरै छ, तर, यी सडकहरु व्यवस्थित पार्न सकिएको छैन । यी सडकमा कम्तिमा हिँउद वर्षा दुवै समय यातायात सञ्चालन हुने गरी विकास गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य सामाजिक विकासको कामलाई प्रभावकारी रुपमा अघि बढाउन र आर्थिक विकास हुने खालको कार्यक्रमहरु सञ्चालन गर्न मेरो भूमिका हुनेछ ।


अन्तमा नुवाकोटवासी मतदातालाई के भन्नुहुन्छ ?
नुवाकोटका नागरिकहरुले यस पटक बाम गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर दुई वटा प्रतिनिधिसभा सदस्य र चार वटा प्रदेशसभा सदस्यमा कम्युनिष्टका कार्यकर्ताहरुलाई विजयी गराउनुभएको छ । हामी नुवाकोटवासी नागरिकहरुप्रति ऋणि छाँै । हामी तपाईको मतलाई खेर जान दिने छौनाँै । हामीप्रति जुन विश्वासका साथ मत दिनुभएको छ त्यो मतको दुरुपयोग हुनेछैन । नुवाकोटको विकास र समृद्धिको लागि हामी लाग्नेछौँ । अर्को पटक हामीले कम्युनिष्ट पार्टीका कार्यकर्ता जो निर्वाचनमा लडेपनि जित्न सक्ने र जित्ने नुवाकोट बनाउने छाँै । हामी अरुले जस्तो झुटो आश्वसन दिँदैनौँ । नागरिकहरुको हरेक पिरमर्कालाई हामीले नजिकबाट हेरेका छौँ । त्यसको समाधानको लागि हाम्रो प्रयास जारी रहनेछ ।

त्यसैले हामीले नागरिकहरुको विश्वासलाई अझै प्रगाढ बनाएर अघि बढ्नुछ । जुनरुपमा नुवाकोटवासीले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुभयो, त्यसका लागि हामी ऋणी छौँ । यदि हामी गलत बाटोमा हिँड्न लागेको जस्तो अनुमति भयो भने पनि तपाईहरुको खवरदावी र सुझाव हामीलाई आवश्यक छ । फेरी पनि म नेकपा एमाले नुवाकोटको अध्यक्ष र प्रतिनिधिसभा क्षेत्र नं. २ बाट विजयी उम्मेदवार र सिंगो बाम गठबन्धन नुवाकोटको तर्फबाट सुर्य र हसियाँ हथौँडामा मतदान गर्नुहुने मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुमा धन्यवाद । साथै हामीलाई मतदान गर्न इच्छा हुँदाहुँदै पनि विविध कारणवस हामीलाइ मत दिन नसक्नु भएका मतदाताहरुलाई पनि धन्यवाद । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोगका कर्मचारी, पार्टी कमिटिका साथै जनबर्गिय संगठनका साथीहरुको योगदानको म उच्च सम्मान गर्दछु । अनि नुवाकोटका सञ्चारकर्मीहरुले निष्पक्ष रुपमा हाम्र गतिविधिहरु सम्पे्रषण गरेर सहयोग गर्नुभएको छ, त्यसको लागि पनि म सबै पत्रकारमित्रहरुलाई धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १३:२९