८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा समापन


२७ पुस, काठमाडाैँ । गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो ।

हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा आज सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।

पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गीअड्डाको छतबाट नेपाली सेनाका युनिटले एकैसाथ रिभ्याली बजाएका थिए । सोही अवसरमा भर्खरै स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि जङ्गीअड्डाको अडिटोरियममा इतिहासविद् प्राज्ञ जगमान गुरुङबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पु¥याउनु भएको योगदान र भावी पिँढीले राष्ट्र र राष्ट्रियताका लागि सिक्नुपर्ने र गर्नुपर्ने कर्तव्यका विषयमा प्रवचन गर्नुभएको थियो ।

उक्त अवसरमा नेपाली सेनाले निकट भविष्यमा प्रकाशन गर्न लागेको ‘नेपाल एकीकरणको इतिहास ९विसं १८०१–१८७२०’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु’ तथा ‘नेपाली आर्मी एम ए ग्लोरियअस पास्ट’ बारे जानकारी दिइएको थियो ।

सेनाको कल्याणकारी कोषबाट सञ्चालित हाजिरीजवाफ प्रतियोगिता र विजयी टोलीलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाणपत्र प्रदान गर्नुभयो । सेनाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छनोट भएका कवितालाई पुरस्कारसमेत प्रदान गरियो ।

महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कवितालाई छनोट गरी पुरस्कृत गरियो । तत्कालीन समयमा सेना र सर्वसाधारणले राष्ट्र निर्माणमा पु¥याएको योगदान र बलिदानमा आधारित चलचित्र ‘नालापानी’को प्रदर्शनी पनि गरिएको थियो ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार २२:२६