७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाहीको निधन


२७ पुस, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहनुभएको थियो ।

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उहाँ टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । शाहीले चार पटक साफ खेल खेल्नुभएको थियो । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहनुभएको थियो । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको हो ।

उहाँ २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित हुनुभएको थियो । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहनुभएको थियो । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन हुनुभएको थियो ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १२:००