१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै


२५ पुस, सल्यान । सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।

पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आउनुभएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको बताउनुहुन्छ । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भन्नुभयो ।

जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगँैचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताउनुभयो । “बगैँचामा सुन्तलाका दुई हजारभन्दा बढी बोट छन् अहिले ग्रिनिङका कारण १५० भन्दा बढी बोट सुकेका छन् । यो रोग छिटो फैलिने हुँदा पनि उत्पादिन लिने बेला चिन्तित बनाउन थाल्यो”, उहाँले भन्नुभयो । गत वर्ष रु २७ लाख बढीका सुन्तला बिक्री गरेकामा यो वर्ष रु सात लाख ननाघ्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिनुभयो । “जलवायु परिवर्तनको कारणले पनि होला सुन्तलाका बोट सुक्न थालेका छन् भने फल पनि राम्ररी लागेको छैन । बोटको तलतिर सुक्दै जान थालेपछि सुन्तला उत्पादन घटन थालेको छ”, डाँगीले भन्नुभयो । जिल्लाका सुन्तला पकेट क्षेत्रको रुपमा रहेका धेरै स्थानमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो । “सुन्तलामा यो रोग देखा परेपछि गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ”, बस्नेतले भन्नुभयो । यो रोगको उपचार नहुने भएकाले पनि ठूलो समस्याको रुपमा रहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनका कारण अहिले सुन्तला तल्लो क्षेत्रतिर विस्तारै यो रोगको कारण सुक्दै गएको र अलि चिसो क्षेत्रतिर भने सुन्तला राम्रो हुँदै गएको छ”, बस्नेतले भन्नुभयो ।

यो रोगका काराण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।

“असोज महिनामा बढी पानी परेका कारण सुन्तलामा रस बढी भएको कारणले पाक्न ढिला भएको र बजारमा भारतीय सुन्तला आइसकेको हुनाले यो वर्ष सुन्तलाले त्यति मूल्य पाउन नसक्ने अवस्था छ”, सूचना अधिकारी बस्नेतले भन्नुभयो । गत वर्ष औसतमा रु ५१ प्रतिकेजी मूल्य रहेकामा यो वर्ष रु ४० प्रतिकेजीसम्म आउने उहाँको भनाइ छ ।

सल्यानका बागचौर नगरपालिकाको ८ र ९ छत्रेश्वरी गाउँपालिकाको १ र २ र त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा करीब ७५० कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । लटरम्म पाकेर पहँेलै भएका सुन्तलाका बगैँचा अब यो रोगको नियन्त्रणको उपाय अपनाउन नसकिए केही समयमै उजाड बाँझो बस्तीमा परिणत हुने निश्चित छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ११:१३