१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

राजनैतिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेः वरिष्ठ कलाकार आचार्य


वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गर्नुभएकोछ । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताउनुभयो । राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गर्नुभयो ।

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गर्नुभएको छ । गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटाकुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ भने टुडिखेलमा हात देखाउँदा ज्योतिसिले धनि हुन्छौ भने, चुनाव लडनु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीति माथि कस्नुभएको छ । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा कमेन्टहरु आउँदाखेरी फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ । तर प्रवृतिलाई भनेको हो । जुन नेपालमा दण्डहिताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग गर्ने हो । हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस । विधिको साशन होस । भ्रष्ट्राचार संसारमा जहाँपनि हुन्छ । तर त्यसको पनि मापदण्ड हुन्छ । हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ । हुनत सरकारले भ्रष्ट्राचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ । तर हामीले गरेको पनि देखिराछौं । कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं ।’

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताउनुभयो । ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अव खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिंडेको हामीले देखेका छौं । तर सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ ।’

राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताउनुभयो । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनताहरुमा बढी निरासा छाएको कारणपनि त्यही हो की यो प्रवृति, भ्रष्ट्राचारको प्रवृति रोकियोस । राजनीतिमा मात्रै होइन की प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ । जनतालाई सानो काम गर्न प¥यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपदैन ।’

देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताउनुभयो । ‘मैले बेलाबेलामा भन्ने पनि गर्छुकी घरमा बाउ जड्याहा भयो भने छोराछोरीहरु पनि जड्याहा हुन सक्छन । विग्रीन सक्छन । बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन भने देखि छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अविभावकत्व नै विग्रिएको जस्तो लाग्छ । तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृतिलाई भनेको मैले । त्यही प्रवृतिमाथि बनाएको गीत हो ।’

देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दापनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो देशको डेमोक्रयासी अव बाँदर नभनौं जस्तोजस्तो मान्छेले सञ्चालन गर्नुभएको छ त्यस्तै त्यस्तै भइदिएको छ । जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो ।’

कुनैपनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ । राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताउनुभयो । ‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन । त्यो प्रकृतिले दिएको हुन्छ । संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ । कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस ग¥यौं । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनुहुन्छ ।’

तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ । ‘चुनाव दलहरुले पनि जितेका छन सानाहरुले पनि जितेका छन । काला व्यापारीहरुले पनि जितेका छन । त्यस्तो प्रवृति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्ने छ । मान्छेको चरित्र आचरण नबुझिकन जोपायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरी चुनाव जितेर आउँने डनहरु नै हुन । डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरुसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ ।’

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार २०:२९