७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी सुरू


२२ पुस, काठमाडाैँ । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा। विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताउनुभयो ।

डा निर्मलले कोभिड १९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको बिराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परिक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परिक्षणका निम्ति दिनुपर्ने बताउनुभयो ।

सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गर्नुभयो । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उहाँको आग्रह छ ।
यसै सन्दर्भमा डा। विमल कुमार निर्मलले न्युज एजेन्सी नेपालसँग गर्नुभएको संक्षिप्त कुराकानी पठाएका छौँ ।

“कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु शिल भएको, पशु तथा पशुजन्य पद्धार्थ कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतको बर्डफ्लु आएको छ । हामि सचेत हुनुपर्छ । नेपालमा देखा परिसकेको त छैन तर सम्भावना रहन्छ । जब छिमेकी मुलुकमा तथा सिमानामा आयो भने नेपालमा पनि स्वभाविक हुन्छ ।

बर्डफ्लु १० वर्षदेखि खेपीरहेका छौँ । यस वर्षको तयारी भनेको, जहाँ फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामिसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौ । एउटा यहाँ पनि छ, पशुसेवा विभाग अन्र्तगत महानिर्देशकले हेर्नुहुन्छ ।

एउटा कुरा भनौँ, गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्र्तगत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो, पशुसेवा विभागको महानिर्देशकको संयोजकत्वमा । उहाँले तत्काल सम्बन्धित प्रदेशको सचिवसँग सम्पर्कमा रहनुहुन्छ ।

हामिले यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जतिपनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दाबढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँपनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ ।

बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नुहुन्छ । कहिँपनि यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडी बढाउने ।

कोभिडको बेलामा झन्डै हाम्रो ५÷६ वटा प्रयोगशाला कोभिड रोग पहिचानको लागि प्रयोग भइरहेको छ । प्रदेश नं। १ मा बिराटनगर, प्रदेश नं। २ मा जनकपुर लगायत चितवन, धनगढी, सुर्खेतमा प्रयोगशाला दिएका छौँ । हाम्रो पशुपन्छीमा रोग आइसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हामिले अनुरोध गरेका छौ कि, ति प्रयोगशालाहरु क्रमशः पशुपन्छीकै लागि प्रयोग गर्दा राम्रो हुने ।

यो रोगको बढी जनसंख्या भएको चितवनवरिपरि, रुपन्देही, नवलपरासी, हेटौँडा, कोहलपुर, काठमाडौँ वरिपरी निगरानीको रुपमा हेर्छौ । किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जानुहुन्न । कहिँ ठुलो संख्यामा कुखुरा मरेको छ भने जानकारी दिनुहुन अनुरोध छ । बिरामी भयो भने मारेर गाडीदिने अथवा बेचिदिने गर्नुहुन्छ । गाड्दैमा भाइरस मर्दैन । कुनै न कुनै रुपमा अन्य क्षेत्रमा संक्रमण हुन्छ र नराम्रो गर्छ । त्यसरी गाड्नुहुन्न । कुनै रोग छ भने आफैँले नगाड्नु, बेचबिखन नगर्नु । त्यस गरिएको पाए कारबाही गर्छौ ।

क्वारेन्टाइनमा कडाई गरेका छौँ । किसानहरु आफै पनि सचेत हुनुहुन्छ । जाडो महिनामा आउने रोग भएकोले एक महिना विशेष सजगता रहन अपिल गरेका छौँ । बर्डफ्लु फैलियो भने खपत घट्ने हुन्छ । किसानलाई अप्ठ्यारो पर्छ । बर्डफ्लुको मारमा किसान नपरुन् । सजग रहन अनुरोध गर्दछु ।”

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १८:५२