१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली भूमिमा एसएसबीले गाडेको बाँसको किलो इलामका जनताले उखेलेर फाले


२० पुस, काठमाडाैँ । इलामको सूर्योदय नगरपालिका २ हिलेमा सीमा मिच्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो कदम गलत भएको स्विकार गरेपछि तत्कालका लागि समस्या समाधान भएको छ । शनिबार साँझ भारतीय पक्षले हिलेमा नेपाली भूभागमा प्रवेश गरेर बाँसको किलो गाडेपछि स्थानीयले प्रतिकार गरेका थिए ।

स्थानीयवासीले भारतीय पक्षले गाडेको किलो समेत उखेली दिएपछि सोमबार भएको दुवै पक्षका सुरक्षा निकायका स्थानीय प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको भारतीय पक्षले स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताउनु भयो । एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्याउने प्रतिवद्धता पनि जनाएको छ । बार्तामा भारतीय पक्षले अब उपरान्त गल्ती नदोहोरिने प्रतिवद्धता गरेका इन्सपेक्टर खतिवडाले जानकारी दिनुभयो ।

छलफलका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्र निरीक्षक खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले पुगेको थियो । भारतको तर्फबाट एसएसबी विओपी हिले भज्याङका असिस्टेन सब इन्स्पेक्टर दिबाङ्कर विश्वासको कमाण्डमा खटिएको टोली छलफलमा सहभागी थियो ।

भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१/११ देखि ७२/२५ बीचको दशगजा भूभागमा तैनाथ ८ नम्बर बटालियन मातहतको एसएसबीले ‘मिसिङ पिलर’ रहेको भन्दै नेपाली भूमिमा किलो गाडेको थियो । इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा विवाद रहेको छ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार २०:४८