१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अनुशासनहिन कर्मचारीका लागि खतरा मन्त्री यादव, को हुन मातृका यादव ?


१५, फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव कडा स्वभावका व्यक्ति हुन । उनी आफ्नो आँखा अघि गलत काम देख्नै सक्दैनन् यतिसम्म कि कानुन अनुसार कार्वाही गर्दा समय लाग्ला भनेर कर्मचारीलाई ट्वाइलेटमा थुन्न समेत पछि नपर्ने नेता हुन । यद्यपी यसपटक भने मन्त्री यादवले आफूलाई त्यस्तो कर्मबाट रोक्न मन्त्रालयमा हाजिर भएकै दिन अपिल गरेका छन ।

उनले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्नेमा समेत जोड दिएका छन । मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट गरे ।

को हुन् मातृका यादव
२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विस २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थी उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका भूमिगत थियो , संगठन । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थी भन्दापनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटव्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गिय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सवैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखेको थियो । त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण गर्न गएको थियो । त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएका थिए । विस २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विस २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आईपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रुपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गर्यो । त्यसताका मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसँख्यकको माग थियो । त्यस्ताका मातृका क्षेत्रिय व्यूरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण शुरु गर्यो । त्यसमा पनि उनी सक्रिय रहे । फेरी उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राख्यो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रिय समितिमा ल्याउने कुरा भयो । उनी रामबृक्ष यादव मास्टर साहेबलाई केन्द्रिय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन् । २०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत भयो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतिको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई वेपत्ता पारियो । २०५८ मा फेरी उनी जेलमा परे । २०५९ मा सरकारसंग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरी दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजिनामा दिएर हिडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । त्यसबेला भूमी तथा व्यवस्था मन्त्री भएका थिए । त्यतिबेला पनि सरकारबाट आफूलाई काम गर्नमा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजिनामा दिएका थिए । पछि उनी पार्टीबाट नै अलग भए ।

पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजिनामा दिएका थिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे । मधेश आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेशमा आन्दोलन शुरु गरेका थिए । मधेशवादी दलहरुले आन्दोलन शुरु गर्दा उनी त्यसअघि देखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन ।

उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेशवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानु पर्छ भनि उनले निकै प्रयास गरेका थिए त्यही प्रयास स्वरुप एकपटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

एक मधेश एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्य सहित उनी मधेशका इन्चार्ज पनि भए । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छ ।

उनी माओवादी केन्द्रको तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रीमण्डलमा सहभागि भएका हुन् । मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०४:४६