१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एक प्रतिशत जनसंख्यामा कोरोना संक्रमण पुग्दा विश्व नै अस्तव्यस्त


-मोहिनी मिश्र रिसाल

१३ पुस, काठमाडाैँ । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर स्वास्थ्य चुनौतीको सामना गरिरहेको छ भने यो सङ्क्रमणले वर्षदिनको फन्को लगाइसक्दा पनि यसको औषधिउपचारको सहज उपलब्धता हुन नसक्नु विश्व समुदायका लागि अर्काे चुनौती समेत बनेको देखिएको छ ।

विश्वको जनसंख्या सात अर्ब ८२ करोड रहेको छ । हाल विश्वभरका ८ करोड ११ लाख भन्दाबढी व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यो संख्या विश्वको जनसंख्याको एक प्रतिशत हो । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हो । अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ । हाल अमेरिकामा १ करोड ९५ लाख भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।अमेरिकी जनसंख्याको करिब ६ प्रतिशत भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

विश्वको जनसंख्याको हिसाबबाट दोस्रो स्थानमा रहेको भारतको जनसंख्या करिब १ अर्ब ३९ करोड रहेको र हाल भारतमा १ करोड दुई लाख ७ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । भारतको जनसंख्याको हिसाबबाट ०.८ प्रतिशतलाई सङ्क्रमण भएको छ ।
विश्वमा यस्ता महामारीजन्य रोगहरु यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारी हालसम्मको इतिहासको गम्भीर माहामारीको रुपमा रहेको थियो ।

यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण ५ करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाई थियो । यस फ्लुले अमेरिकामा मात्र ६ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो ।

यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट ४ लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने २ लाख ८४ हजारको मृत्यु भएको थियो । सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी पश्चिम अफ्रिकी देशहरुमा भने अर्काे एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो । यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो ।

एक वर्षदेखि जारी यस कोरोनाको कारण विश्वको हरेक देशमा मनाइने ठूला पर्वहरु पनि रोकिएको छ । विश्वमा करिब २ अर्व जनताले मनाउने गरेको क्रिसमसकोे विदा युरोपमा मनाउन पाएनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या आएको हो । युरोपमा क्रिसमस र आगामी केही दिनमा शुरु हुने नयाँ वर्षको अवसरमा पनि विदा दिइएको छ । विश्वको १६० भन्दा बढी देशले मनाउने यस पर्वमा नागरिकहरु विदाका साथै क्रिसमसको अवसरमा समेत घरबाट बाहिर निस्किन पाएका छैनन् ।

धेरै नागरिकलाई एकै पटक एक स्थानमा जम्मा हुन दिइएको छैन भने कतिपय स्थानमा त घरबाहिर जान पनि नपाइने गरी कडा खालका प्रतिबन्धहरु लगाइएको छ । होटल रेष्टुरेन्टहरु साँझको छ बजे नै बन्द गर्न भनिएको छ भने होटल तथा पार्टी गर्ने स्थानहरुमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन । युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको छ । यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्यामा युरोपका प्राय देशका नागरिक परेको देखिएको थियो ।

बेलायतमा त कोरोना भाइरस जिवाणुको नयाँ स्वरुपको प्रकोप नै भेटिएको भन्दै यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ । यहाँ नागरिकलाई रमाइलो जमघट परी जाओस घरबाट बाहिर पनि निस्किन दिइएको छैन । बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएपछि युरोपका नागरिकले क्रिसमसको अवसरमा कुनै पनि समारोह गर्ने र आनन्द लिने काम गर्न पाएका छैनन् ।

युरोपका कतिपय देशहरुमा यो भाइरसको दोस्रो लहर आएको बताइएको छ । बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो । बेलायत र अरु पनि कैयौँ देशमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको छ ।

जर्मनी, बेलायत र फ्रान्सकै पनि कतिपय स्थानका मानिसलाई घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको छ । युरोपका देशहरुले कोरोना भाइरसको प्रकोपको थप समस्याको आंकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियमहरु बनाएका छन् ।

यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिक त घरबाट निस्किनसमेत नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नयाँ प्रतिबन्ध लगाइएका स्थानमा पूर्वीबेलायतका विभिन्न सात स्थान रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिनुभएको हो । ती स्थानमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना बिरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उहाँले बताउनुभएको थियो । यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् ।

बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् । डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको थियो । बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो ।

बेलायतल सरकारमात्र होइन क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेका स्थानहरुमा अरु युरोपेली देशहरुले पनि आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न कडा रुपमा आदेश नै जारी गरेक भनेका थिए । बेलायतबाट हुनसक्ने कोरोनाको सङ्क्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् । यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।

अघिल्लो महिनादेखि पुनःयसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्ध बेलायतले घोषणा गरेका थिए । त्यसैमाथि अहिले फेरि झन् कडा खालको र मृत्युको दर पनि बढी भएको यो नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ । नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।

यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारको भनाइ छ । यसरी अहिले विश्व कोरोना सङ्क्रमणको पुरानै समस्याबाट पीडित रहेका बेला फेरि नयाँ प्रजातिको संक्रमण फैलिएको छ । यसले गर्दा विश्वलाई नै एक किसीमले तहस नहस नै बनाएको छ । (अन्तर्राष्ट्रिय समाचारमा आधारित)

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १४:३५