दैनिकी

  • २९ मंसिर २०७७, सोमबार २१:५०

नेपालको गीत (राष्ट्रिय कविता महोत्वसमा विजेता भएको कविता)

-भैरवी भूगोल

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ –
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ –
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरुमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरुका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर


धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरु ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस्अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन,पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहुन्
मेरा सन्ततीहरू
गाइरहुन् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

लिखु-१,नुवाकोट
सम्पर्कः ९८५१०४८६६४