दैनिकी

  • २९ मंसिर २०७७, सोमबार २१:१८

समृद्ध नुवाकोटका निम्ति प्रमुख प्राथमिकता पर्यटन प्रवर्द्धन

-अनुजकुमार श्रेष्ठ

नुवाकोटको ऐतिहासिक धरोहरहरु, धार्मिक मठ-मन्दिर तथा पर्यटकीय महत्त्वका स्थलहरुको व्यापक प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सामाजिक तथा व्यावसायिक रुपमा तयार रहनुपर्ने देखिन्छ । समृद्ध नुवाकोट निर्माणका निम्ति स्थानीय स्तरमा आवश्यक पूर्वाधारहरु निर्माण तथा पर्यटकका निम्ति आवश्यक सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टहरुको व्यवस्थापन अत्यावश्यक छ। पर्यटन प्रबर्द्धनका निम्ति नुवाकोटमा तत्काल गर्नुपर्ने सात काम यस्ता छन ।

१. सभा सम्मेलन गर्न सकिने कम्तिमा १५०० क्षमताको सभाहल आवश्यक छ। जसकाे कारण ठूला राष्ट्रिय र अन्तर्राष्टिय सभा सम्मेलनका साथै प्रदर्शनीहरूको अायोजना नुवाकोटमै गर्न सम्भव हुन्छ ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सदस्य संख्या रहेको सामाजिक संघसंस्थाहरुसँग समन्वय गरि जिल्ला भित्र नियमित गतिविधि गर्न प्रोत्साहन गर्ने । कम्तिमा विभिन्न ठाउँमा रहेका नुवाकोट जन्मथलो भएको व्यक्तिहरूले त्यस संस्थाको कार्यक्रम नुवाकोटमा पनि लैजान पहल गर्ने ।

३. देशभरका विद्यालय तथा शैक्षिक संस्थाहरुले नियमितरुपमा आयोजना गर्ने शैक्षिक भ्रमणहरुमा नुवाकोट पनि एउटा महत्त्वपूर्ण स्थान हो । यद्यपी यसको बजारीकरण हुन सकेको छैन । शैक्षिक भ्रमणका निम्ति वातावरण तयार गर्न तथा शैक्षिक संस्थाहरुको छाता संगठनहरुमा सम्पर्क बढाउने र तिनीलाइ नुवाकोट गन्तव्यका रूपमा छान्न प्रोत्साहनका निम्ति बिशेष कार्यक्रम तय गरि प्रचारप्रसार गर्ने।

४. स्थानीय स्तरमा रहेको मौलिक कला संस्कृति तथा पहिचानलाई संरक्षण गरि प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गर्ने । स्थानीय स्तरमा महोत्सव तथा प्रचारप्रसार अभियान संचालन गर्ने । भएको कला संस्कृतिको संरक्षका लागि स्थानीय सरकारहरूले गुरूयोजना निर्माण गरेर नै काम गर्ने ।

५. समृद्ध नुवाकोट निर्माणका निम्ति सबै सरोकारवाला निकायहररू, आम नागरिक तथा संघसंस्थाहरु पूर्ण ईच्छा शक्तिका साथ एकजुट भै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागि पर्ने । जिल्ला भित्र आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन भित्रिएका पर्यटकको बसाइँ लम्ब्याउन बिशेष कार्यक्रमहरु निर्माण गरि प्रोत्साहन योजनाहरु सञ्चालन गर्ने ।

६. आयातलाई निरुत्साहित तथा निर्यातलाई प्रोत्साहन गरि स्थानीय स्तरमा उत्पादन भएका सामाग्री तथा बस्तुहरुको प्रयोग गर्न प्रोत्साहन गर्ने। उत्पान भएका बस्नु तथा सामाग्रीको लागि उचित बजारको खोजी गरिदिने त्यसका लागि तत् तत् ठाउँमा रहेका जिल्लावासीले समन्वय र सहयोग गर्ने

७. सडकको स्तरउन्नतीसंगै अब करिव २ घण्टामा काठमाडौँबाट नुवाकोटको सदरमुकाम विदुरसम्म पुग्न सकिन्छ। अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं भित्रिएका पर्यटकहरूलाई तुलनात्मक रुपमा सस्तो र भिडभाडबाट शान्त वातावरणा बस्ने गरि सिधै नुवाकोट जाने योजना बनाउन पर्यटन व्यवसायीहरु संग समन्वय गर्न जरुरी छ। विदेशीलाइ नेपाल घुम्ने निम्तो दिनेक्रममा नुवाकोट घुम्ने प्याकेज बेच्न लगाउने ।

प्रमूख पर्यटकीय गन्तव्य

-नुवाकोट दरबार – नुवाकोट साततले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो। वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात् आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरुको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए। निकै कलात्मक तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा अनुपम नमूना मानिन्छ। यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरु छन्। यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो।

-बेलकोटगढी – नुवाकोटको ऐतिहासिक स्थलहरुमध्येको एक हो बेलकोटगढी। पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए। पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिरशान्तिका लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्यभागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ।

-दुप्चेश्वर महादेव – दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करीब ४० किमि उत्तरपूर्वमा पर्छ। धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ। यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ। उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरुको भीड लाग्ने गर्छ।

-सागरकुण्ड – समुद्र सतहदेखि २९१५ मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। काठमाडौँदेखि बुढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ, न त कुनै निकास नै। जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरु यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था रहेको छ।

-ककनी – राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ। यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ। समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरुमध्ये पर्छ। उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरुका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरुको देख्न सकिन्छ।

-ओखरपौवा – कृषिका विद्यार्थी र किसानका लागि ककनी र ओखरपौवा सानो–सानो पाठशाला नै हो। स्ट्रेबरी, ट्राउट माछा, च्याउ र मुला उत्पादनका लागि त्यत्तिकै प्रसिद्ध मानिन्छ। ट्राउट माछा खान र सोसम्बन्धी जानकारी लिन नुवाकोटको ककनी र ओखरपौवा मात्रै पुग्ने हो भने पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ। ककनी पुगेपछि यहाँको फुङेफुङे झरना हेरेर आनन्दित हुन सकिन्छ ।

-अन्य गन्तव्य – त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर रहेका छन्। सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ। यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसङ्क्रातिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरु समेत प्रख्यात छन्।

नुवाकोटको भूगोल

नुवाकोट जिल्ला प्रदेश नं.–३ अन्तर्गतको पहाडी जिल्ला हो । उत्तरमा रसुवा जिल्लाको सीमाना जोडिएको झण्डै अर्धचन्द्रकारको रुपमा पूर्वपश्चिम फैलिएर रहेको भौगोलिक बनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेशी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ, नुवाकोट जिल्ला २७º–४५º देखि २८º–२०º उत्तरी अक्षांशसम्म र ८५º–०º देखि ८५º–४५º पूर्वी देशान्तरसम्म अवस्थित रहेको छ। समुन्द्र सतह न्यूनतम् ४५७ मिटरदेखि अधिकतम् ५१४४ मिटर उचाइसम्म भू–धरातल रहेको छ।

नुवाकोट राजधानीसँग समेत जोडिएको ऐतिहासिक, राजनीतिक, भौगोलिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण जिल्ला हो। २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या २,७८,७६१ र परिवार संख्या ६१,९५० रहेको छ। यो जिल्ला राजधानीदेखि सदरमुकामसम्म ६८ किमिको दुरीमा छ, जनघनत्व २४९ किमि र नेपालको कुल जनसंख्याको १.०४ प्रतिशत स्थान ओगटेको छ। यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ्ग, उत्तरमा रसुवा र दक्षिणमा काठमाडौं जिल्ला पर्दछ ।