१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

५ जनालाई अफ्रिकामा लगेर बेच्ने सिन्धुपाल्चोककी अनिता पक्राउ


२८ मंसिर, काठमाडाैँ । दक्षिण अफ्रिका पुर्याएर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पुर्याएर बिक्री गरेको खुल्न आएको छ ।

पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार/पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो । उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १९:५२