१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रसुवामा ६ वर्षीया बालिकाको हत्या, हत्या गर्ने नुवाकोटकी १९ वर्षीया युवती पक्राउ


२५ मंसिर, काठमाडौँ । रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हाे । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबारदेखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लागि प्रहरीमा निवेदन दिएका थिए ।

परिवारको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको थियो । बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

डिएसपी सुवेदीले भने, ‘सपनाले चाउचाउ दिएर फकाइछन् र अलि पर लगेर बालिकाको कानका मुद्रा निकालिछन् । अनि बालिकाले आमासँग भन्दिन्छु भनेपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’ हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएकी छिन् । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ११:०४