दैनिकी

  • २५ मंसिर २०७७, बिहीबार १०:५०

ओलीको राजिनामा माग्ने लिलिपुटियनहरू

-अर्जुन पाण्डे

महाभारतको युद्ध अचानक र अनाहक उत्पन्न भएको थिएन । प्रथमतः यो यस्तो युद्ध थियो जुन छल, कपट, अन्याय र षण्डयन्त्रको जगमा संरचित कुण्ठा, इष्या र देशद्धारा पालित पोषित गरि हुर्काइएको थियो । दोश्रोः दुर्योधनहरुका यावत षडयन्त्र बुझ्न नसक्ने पाण्डवहरुका कारण यो युद्धको जन्म भयो । यो बाध्यता बन्यो । शकुनी र दूर्योधनहरु षडयन्त्रकारी हुन्, यिनले आयोजना गरेको द्युत क्रृडा एक कपटपूर्ण षडयन्त्र हो भन्ने हेक्का राखेको भए, त्यहाँ द्रौपदीको चीर हरण गर्ने तैयारी हुँदैछ भन्ने थोरै मात्रै संकेत पाएका भएको भए या त युधिष्ठिरहरु त्यस्तो खेल खेल्न जाँदै जाँदैनथे गएका भए पनि सम्भावित षयडन्त्रलाई निस्तेज पार्ने रणनिति र शस्त्रादीको इन्तजाम गरिकन जान्थे ।

खासमा कौरवहरू शकुनीको कपटी पासा उद्याएर बसेका थिए र पाण्डवको इन्द्रप्रस्त लगाएत सर्बस्व हत्याउने योजनालाई मूर्त रुप दिन तैनाथ थिए । तर शायद सत्यवादी र निष्ठावान भएकै कारण यधिष्ठिरले द्युत कृडाको निम्तोलाई बन्धु बान्धवबीच  सम्बन्ध प्रगाढ बनाउने पुनित कर्मको रुपमा लिए । फलत, त्यहाँ युधिष्ठिरले पासा मात्र हारेनन् खुला सभामा द्रौपदीको चीरहरण भयो र पाण्डवहरुको सर्वस्व माथि कौरवहरुको कब्जा भयो । पाण्डवहरूले बनवास सम्मको नियति भोग्नु पर्यो । धन्न द्धापर युग थियो त्यो र कृष्णले अनेकन युक्ति उपाय अपनाए, पाण्डवलाई साथ दिए र अन्ततः पाण्डवहरुले कौरवमाथि विजय हासिल गरे र कौरवद्धारा हरण भएको इन्द्रपथ र हस्तिनापुर फिर्ता पाए ।

उहिले हस्तिनापुरमा रचिएको यो प्रपंच इतिहासका विभिन्न कालखण्डमा विविध रुपमा प्रकट हुँदै कलियुगको यो तिथि मितिमा हस्तिनापुरदेखि ७३४ कि मि टाढा रहेको नेपाल देशमा मञ्चन भैरहेको छ । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र ए नेकपा माओवादी पार्टीबीच एकिकरणको घोषणा पत्रमा सही गर्दै गर्दा तत्कालिन नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीले यो एकीकरण दुबै अध्यक्षको सहमतिका आधारमा निर्धारण हुनेछ र एकीकरण पश्चात हरेक प्रस्ताव र निर्णयहरु दुबै अध्यक्षको सहमतिमा बैध हुनेछन् भन्ने मूल मान्यतालाई पछि बहुमत अल्पमतको खेलमा परिणत गर्ने खेल खेल्न सक्छन् भन्ने हेक्का राख्नुभएको भए शायद यो एकीकरणले मूर्त रुप लिने थिएन वा भर्खरै सम्पन्न निर्वाचनले निर्क्याैल गरेको लोकपृय जनमत २८/ ७२ अनुपातका आधारमा कुर्सी र पदका भाग बण्डा हुने थिए ।

यो परिदृष्यलाई आजको दिनमा अनुमानको आँखामा दृष्यांकन गर्ने र भिन्न भिन्न अवस्थाको काल्पनिक चित्र प्रक्षेपण गर्ने अवसर र सुविधा सबैलाइ छ । यदि निर्वाचन अघि नै दुई पार्टीबीच साझा उम्मेदवार नगरिएको भए नेकपा एमाले र एनेकपा माओवादीको चुनावी परिणाम कस्तो आउँथ्यो होला ? नेकपा एमालेको कुल सीट कति आउँथ्यो होला ? एनेकपा माओवादीले कति सीटमा चित्त बुझाउँथ्यो होला ? साझा उम्मेदवार दिई निर्वाचन परिणाम आइसक्दा पनि पार्टी एकिकरणको निश्चितता थियो कि थिएन ? यदि एकिकरण नभएको भए दुबै पार्टीको अवस्था कस्तो हुन्थ्यो होला ?

हुनतः नेकपाका दोश्रा अध्यक्ष कमरेड प्रचण्ड आफूले प्रधानमन्त्रीको अफर लत्याउँदै त्यागको नमूना पेश गरेको बताउँदै आउनुभएको छ । तर यस्तो तर्कलाई सुनकै जलप लगाएर सजाए पनि संसदको तेश्रो पार्टीको हैसियत हुनेले आफूले ठूलो त्याग गरेको बखान बारम्बर गरिरहनु यथार्थ थियो कि अमिलो अंगुरको त्याग थियो ? राणा, पञ्चायत फाल्ने नेपालीहरु कम्तिमा यति चाहिँ बुझ्ने सामथ्र्य राख्दछन् । त्यस्तै तत्कालीन नेकपा एमालेको हैसियत कस्तो हुन्थो होला ? ६ महिना अघि मात्र सम्पन्न स्थानीय निर्वाचन परिणामले के इंगित गरेको थियो ? यी यस्ता प्रश्नहरु हुन जसलाई दोहर्याइरहनु बारम्बार बाह्रखरी घोकिरहनु भन्दा फरक छैन ।

भन्नेहरु भन्छन्, आज नेकपामा शकुनीहरु विभिन्न कोठरीहरु भित्र गन्दा जालसाजी रच्दछन्, त्यसलाई प्रस्ताव र दस्तावेजको मखमली जामा पहिर्याउँछन् र फूलको डोलीमा बोक्छन् अनि विधि र पद्धतिको मागल गाउँदै लावा लस्कर बालुवाटार तर्फको बाटो नाप्छन् । तिनै सचिवालयको गद्धिमा त्यही कप्टी पासा फ्यँक्छन् । दुर्योधनहरु तिघ्रा ठोक्दै बहुमतको अट्टाहस गर्छन् ।

आफ्नै आँखा अगाडी दुशासनले कुल बधुको बस्त्र हरण गरिरहँदा टुलुटुलु हेरिरहन बाध्य हुने दुर्योधनका बसमा परेका हस्तिनापुरे राज खलक र आफ्ना हजाराैँ सहयोद्धा र शहीदका रगतमा साँटिएको, लाखौं जनताको दुःखले आर्जेको पार्टीको झण्डा, प्रतिक चिन्ह र लेटरहेड हाकाहाकी अनधिकृत दुरुपयोग भैरहँदा पनि बोल्न नसक्ने हुतिहारा महामहिमहरुमा क्यै तात्विक भिन्नता छ ? के सभ्य लोकतान्त्रिक समाजमा यस्तो दृष्य कहिँ कतै देखिएको छ ?

नेपाली राजनीतिमा सत्ता स्वार्थको अन्तर्यमा देखिने

दृष्य एकः वास्तवमा यो दृष्य जंगलमा हिंश्रक प्राणिहरुद्धारा खेलिएका सिकार खेलसँग धेरै हदसम्म मिल्दो जुल्दो छ । सिंहले आर्जेको सिकारलाई चारैतिरबाट घेरा हालेर खोस्न खोज्ने हुँडारहरु कुदिरहेछन् ।

दृष्य दुईः अंगेनामा कुँडेभरी दूध छ । ढोकाहरु बन्द छन् । एउट लुव्ध विरालो तप तप राल चुहाउँदै एउटा लुव्ध बिरालो आँखी झ्याल वा खटप्वालबाट भित्र छिर्न मरिहत्ते गरिरहेछ ।

दृष्य तीनः आफ्नै पृयजन झैं कन्याउँदै कन्याउँदै आन्द्रा भुँडी निकालेर खाने, मेल मिलाप भन्दा कटुतामा रमाउने ब्वाँसाहरु छन् ।

दृष्य चारः वास्तवमा यो दृष्य रमाइलो छ । भर्यांगमाथी चढेर लिलिपुटियनहरु गुलिभरको कानमा कुर्सिी छोड् भनि चिच्याइरहेछन् । यि सबै नै आजका भोका उपनायकहरुका पहिचान बनिरहेको छ ।

हो, पार्टी एक सजिब रचना हो जहाँ भिन्न भिन्न विचार हुर्कन्छन्, विशिष्ट प्रतिभा प्रष्फुटन हुन्छन्, दूर छितिज देख्ने दृष्टाहरु जन्मन्छन् तर ति सबै लयमा आवद्ध हुँदा मात्र श्रृजनात्मक र उत्पादनशील हुन्छन् । यस्तो भैदिँदा ति कुनै एक पार्टीका मात्र नभै देशकै सम्पत्ति बन्दछन् तर त्यहि उर्जा गलत ढंगले, गलत दिशा तर्फ प्रवाहित भयो भने त्यसले ध्वंस मात्र गर्दछ । नेकपा सचिवालय नामक क्लव आज त्यहि नजिर स्थापित गर्न उद्यत देखिएको छ जुन दुर्भाग्यपूर्ण छ । विपक्षिलाई समेत कोशौं पर धकेलेर आफ्नै पार्टीको सरकारको जरा काट्ने उद्योगलाई किमार्थ सही कार्य भन्न सकिँदैन ।

यो क्लव समस्या उत्पादक हो समस्या समाधान गर्ने सामथ्र्य भएको टीम हैन तसर्थ यसको विघटन वान्छनिय छ भनेर स्वयं महासचिवले त्यत्तीकै भनेका होइनन् । त्यतिमात्र होइन हामी गौरवशाली पार्टीका महान तर असफल नायकहरु हौं भनेर महासचिवले गर्नुभएको उद्घोष एउटा व्यंग्य मात्र होइन यो यथार्थ हो । सत्य हो । हुनत केपी शर्मा ओलीलाइ प्रधानमन्त्रीको ओहदामा देखिरहँदा नेपाली जनताले देखेका सपनाहरु धेरै थिए । इरादाहरु अनेकन थिए ती पूर्ण हुन सकिरहेका छैनन् ।

राज्य कमजोर पार्ने दुृष्टात्माहरुको कुकर्ममाथिको सल्यकृया अपूरो अपूरो छाडिएका छन् । जनताका गाँस काटेर सुनका गद्धीबैठक सजाउनेहरु निस्फिक्री मस्ती गरीरहेछन् । राज्यको जमिन काँक्रा झैं चीरा चीरा पारी खानेहरु आफै षडयन्त्रमा सामेल छन् । त्यसैले ओली नेतृत्वको सरकार हुँदा नै रामाराज्य भैहाल्यो भन्नु पनि एकांगी हुन्छ । तर बर्तमानमा उपलव्धताको सापेक्षतामा हेर्दा उत्कृष्ट विकल्प भेट्न अझै केही बर्ष कुर्नुपर्ने प्रष्ट छ ।

आज कामकुरो एकातिर कुम्लो बोकी ठीमी तिर भनेझैँ गर्नै पर्ने कैयन कार्यहरु थाँती राखेर एकता महाँयज्ञ नै पूर्ण नुहुँदै यज्ञकर्ताहरु कि तँ छैन कि म भन्ने झैझगडामा अल्झिनु पार्टी र जनता दुवैका निम्ति दुर्भाग्य हो । सन्निकट महाधिवेशनबाट सबै मतभेदहरु टुंग्याउनु र आगामी महानिर्वाचनको तैयारीमा जुट्नु आजको आवस्यकता हो । महत्वपूर्ण समय वित्थामा खेर फालेर हानी हुने आफैलाइ हो । राजनीतिका खेलाडी हुँ भन्नेहरुका निम्ति यति ज्ञान त हुनै पर्दछ ।