७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गंगादशहरा र पुरुषोत्तम महिनाको अवसरमा गोसाइँकुण्डमा तीन हजारले स्नान गरे


२ असार, रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।

समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

सो समयमा यस वर्ष काठमाडाैँ, भक्तपुर, ललितपुर, झापा, पाँचथर, कास्की, धादिङ, चितवन, मकवानपुर, धनुषा, बारा, पर्सा नवलपरासी, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत मुलुकभरबाट भक्तजन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

मेला अवधिभर वर्षा र हिमपातको समस्या नआएको, खान बस्नलाई सहज भएको र मौसम सफा भएका कारण यात्रुलाई हिमाली प्रकृतिको छटा अवलोकन गर्न समेत अत्यन्तै सहज भएको तीर्थालुले बताएका छन् ।

रसुवा जिल्लाको उच्च भागमा अवस्थित गोसाइँकुण्ड जाने तीर्थालु धुन्चेबाट हिँडेपछि दुई दिन लगाएर तीर्थ पुग्ने गरेको र पहिलो रात चन्दनबारीमा बिताएपछि शरीरमा हिमाली हावापानी मिल्ने गई लौरोबिना उकालो हिँड्न अत्यन्तै सहज भएको यात्रु धर्मथापाले जानकारी दिनुभयो । गत जेठ २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम मेला लागेको हुम्लामा आउने भन्दा फाटफुट आउने यात्रुलाई सेवा दिन सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।

त्यस्तै जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा यही भदौ १० गते लाग्ने मेलामा २० हजार भक्तजन आउने लक्ष्य राखिएको छ । उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न व्यवस्थापनका लागि धार्मिक मार्गका होटल व्यवसायी अग्रसर भइसकेको चन्दनबारीस्थित याक एण्ड नाक होटल सञ्चालक पासाङघ्युर्मी तामाङले बताउनुभयो ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार १३:५६