७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यसअघि जस्तै नेकपाको विवाद समाधान स्थायी कमिटीले गर्ने


२० मंसिर, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद यसअघि जस्तै स्थायी कमिटी बैठकले गर्ने भएको छ । शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली माथि लगाएको आरोप र त्यसमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले दिएको जवाफ स्थायी कमिटीमा छलफल गराएर विवादको समाधान खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिनुभयो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

तस्बीरः प्रधानमन्त्रीको सचिवालय ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १७:५६