१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा प्रचण्ड-माधव गुटको विद्यार्थी भेला, अष्टलक्ष्मीको उपस्थितमा फरक पार्टीको अभ्यास


१९ मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटको विद्यार्थी भेला काठमाडाैँमा भएको छ । शुक्रबार दिउँसो काठमाडौँको थापाथाली क्याम्पसमा नेकपा स्थायी कमिटी सदस्यद्धय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालको अगुवाइमा फरक पार्टीको अभ्यास भएको हो ।

भेलामा अनेरास्ववियूका सहसंयोजक रञ्जित तमाङसहित अनेरास्ववियूका पूर्व अध्यक्षहरू ठाकुर गैरे, रामकुमारी झाँक्री र लेखनाथ न्यौपाने लगायतले समेत सम्बोधन गरेका थिए । भेलामा सहभागी भएका विद्यार्थीहरूका अनुसार पार्टी सचिवालय बैठकको पूर्व सन्ध्यामा यो फरक पार्टीको अभ्यास गरिएको हो ।

पार्टीको शीर्ष नेतृत्वको बीचमा विवाद बढ्दै जाँदा देशव्यापी रूपमा पार्टी विभाजनको लागि तयार रहन भन्दै सन्देश सञ्चार गरिएको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाइ काउन्टर दिन फरक पार्टीको अभ्यास गरिएको जनाएको छ । भेलामा भ्रातृ संस्था र कार्यालय कब्जाका सम्बन्धमा टिप्सहरू दिइएको सहभागीले बताएका छन ।

भेलालाई सम्बोधन गर्न पुग्नु भएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताइन । अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उनकै भएको बताइन । बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताइन । भेलामा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार २१:५६