७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रिय पर्यटनमा सर्वसम्मत नेतृत्वको भित्री यथार्थ, कुर्सी प्रहारदेखि पदाधिकारीको राजिनामासम्म


१४ फागुन, काठमाडौँ । नेकपा एमाले निकट पर्यटन व्यवसायीको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा पदका लागि कुर्सी हान्ने समूहले अन्ततः पाएको पदबाटै राजिनामा दिएको छ । काठमाडौँको कान्तिपथमा रहेको एल्लोप्योगोडामा भएको संगठनको अधिवेशनले ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । यद्यपी कार्यसमितिको सर्वसम्मती लामो समय टिक्न सकेन ।

फागुन १२ गते बसेको संगठनको बैठकले मदन आचार्यको नेतृत्वमा कार्यसमितिलाई पूर्णता दिएको थियो । सोही दिन उपाध्यक्षमा चयन भएका राजेन्द्र सापकोटाको नेतृत्वमा एउटा समूहले सदस्य समेत नरहनेगरी राजिनामाको घोषणा गर्यो ।

उक्त समूहमा संगठनको सचिवमा चयन भएका कुमार थपा र वीरेन्द्रबहादुर अधिकारी, टानका पूर्व अध्यक्ष सीताराम सापकोटा, टानका पूर्व कोषाध्यक्ष कुमार थापा र नेकपा एमाले पर्यटन इलाकाका अध्यक्ष ध्रुव सिंखडा लगायतले संगठनबाट राजिनामा दिएका हुन । उनीहरुले आफूले चाहेको पद नपाएको भन्दै राजिनामा दिएका हुन ।

यसअघि आफूले चाहेको पद लिनका लागि संगठनको सदस्यता वितरण र नविकरण दुबै बन्द भैसकेको अवस्थामा आफ्नो सूची पारित गराउन यही समूहले संगठनको अहिले महासचिवमा चयन भएका पूर्ण कँवुर माथि कुर्सी प्रहार गरेको थियो । संगठनको बैठकमा कुवँरलाई कुर्सी प्रहार गर्ने कुमार थापाले पछि आइन्दा यस्तो गल्ती नगर्ने भन्दै तमसुकमा हस्ताक्षर समेत गरेका थिए ।

आफू अनुकुलको सदस्यता थप्न र नविकरण गर्न पाउनुपर्ने मागसहित फागुन पहिलो साता संगठनको कार्यालयमा भएको बैठकमा थप हात हालाहालको अवस्थाबाट बचाउन केही अगुवाले समेत भूमिका निर्वाह गरेका थिए । कुँवर आफैँ खेलाडी समेत रहेका कारण उनी आक्रमणबाट सहज रुपमा बच्न सकेका थिए

। कुँवर आक्रमण गर्नुको मुख्य कारण संगठनको महासचिवबाट रोक्ने र त्यहाँ राजेन्द्र सापकोटालाई स्थापित गराउने उक्त समूहको योजना रहेको एक व्यवसायी बताउछन । हुन त अध्यक्षमा पनि आकांक्षीहरु नभएका होइन यद्यपी अध्यक्षका आकांक्षीहरुको सहज व्यवस्थापन भयो । यो समूहले पछिल्लो पटक टानको निर्वाचन, नाट्टाको निर्वाचन सकारात्मक भूमिका नखेलेको संस्थापन पक्षका व्यवसायीहरुले बताएका छन ।

आचार्यको नेतृत्वमा निर्वाचित संगठन नयाँ कार्यसमितिको अध्यक्षमा मदनकुमार आचार्य, उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा (राजिनामा) रहेका छन ।

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुषाल चयन भएका छन् । सचिवहरुमा शिव लामिछाने, कुमार थापा, विरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको संगठनको सचिवालयले जनाएको छ । प्रथम बैठकले माधव नेपाल, भुवन पाण्डे, ठाकुर पाण्डे, पशुपति शर्मा, सुमन नेपाल, वाङ्छु शेर्पा, टोम सोपकोटा र जया बराललाई केन्द्रीय कमिटीमा मनोनित भएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०६:०७