१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्वास्थ्य क्षेत्रमा ऐतिहासिक क्रान्तिः एकै पटक ४०३ अस्पतालको शिलान्यास हुँदै


१५ मंसिर, काठमाडाैँ । सरकारले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक क्रान्ति गरेको छ । स्वास्थ्य संस्थाको विकासको इतिहास लामो बन्दै जाँदा पनि ६४९ स्थानीय तह अस्पतालबिहीन थिए । कोरोना कहरकै बीचमा स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले  देशभर ४०३ अस्पतालको शिलान्यास गर्दैछ ।

मन्त्रालयले ३९६ स्थानीय तह र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यासको तयारी गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच पुर्याउने प्रयास स्वरूप आज ३९६ स्थानीय तहमा १५ शैय्या सम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पतालको शिलान्यास गर्न लागिएको हो ।

आजको दिन नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सावित हुँदैछ । यसले जनस्वास्थ्यमा आमूल परिवर्तन गर्ने निश्चित छ । स्वास्थ्य क्षेत्रको यो परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आज दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवारोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दै हुनुहुन्छ ।

यसअघि गत भदाै १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै ६४९ स्थानीय तहमा ५ शैय्याको अस्थायी अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको थियो । त्यसका लागि प्रत्येक स्थानीय तहलाइ १० लाख रूपैयाँको दरले तत्कालै रकम निकासा गरिएको थियो ।  

आज शिलान्यास हुने अस्पताल मध्ये स्थानीय तहमा ५ देखि १५ शैय्या सम्मका स्थायी अस्पताल छन भने प्रदेशस्तरीय सरूवा रोग अस्पताल ५० शैय्याको हुनेछ । अहिलेसम्म सरूवा रोगसम्बन्धी एकमात्र अस्पताल रहेको छ । योसँगै अब ८ वटा सरूवा रोग अस्पताल हुनेछ । स्थानीय तहमा बन्ने अस्पताल भवनको मन्त्रीहरू, सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नुहुने कार्यक्रमहरू बनेका छन ।

प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ०८:०५