११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

अर्थमन्त्रीको संसदीय निर्वाचन क्षेत्रको बजेट सबै स्वास्थ्य क्षेत्रमा विनियोजित


१४ मंसिर, काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको सम्पूर्ण बजेट यस वर्ष स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको छ । नेपाल सरकारले प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रका लागि विनियोजन गर्ने बजेटमध्ये सांसद पौडेलले यस वर्ष आफ्नो क्षेत्रमा स्वास्थ्यमा खर्च गर्नुहुने छ ।

अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य पौडेलले आफ्नो संयोजकत्वमा बसेको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले रुपन्देही निर्वाचन क्षेत्र नं २ का चार योजनाका लागि रु चार करोड विनियोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सांसद पौडेलले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रुपन्देही क्षेत्र नं २ मा अघिल्लो आर्थिक वर्ष सम्पूर्ण बजेट शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि विनियोजन गर्नुभएको थियो ।

चालु आवमा विनियोजित बजेटमध्ये बुटवल उपमहानगरपालिका –१२ को शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी तिलोत्तमा नगरपालिकाको शङ्करनगर स्वास्थ्यचौकीमा पूर्वाधार निर्माण एवं सुदृढीकरणका लागि रु एक करोड र सैनामैना नगरपालिकाको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रको सुदृढीकरण कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसंँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना र सञ्चालनका लागि कार्यक्रमअन्तर्गत रु ५० लाख छुट्याइएको छ । अर्थमन्त्री पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट स्वास्थ्य क्षेत्रको विकासमा विनियोजन गर्नाले निकै सकारात्मक सन्देश दिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य जस्तो जनताले अत्यावश्यक सेवा लिने क्षेत्रको विकासमा बजेट विनियोजन गर्नाले स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको विकासमा थप प्रभावकारी बनाउने बताउनुभयो ।

यस्तै तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे यसरी एकमुष्ट बजेट विनियोजन हुँदा कामको परिणाण राम्रो आउने बताउनुहुन्छ । उहाँले कोभिडको महामारीका बेला स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएको र यसलाई आफूहरुले सघन उपचार कक्ष सञ्चालन र स्तरीय खोप केन्द्र स्थापना गर्न प्रयोग गर्ने र जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १९:२७