१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोनाका कारण नेपालको शिक्षा प्रणाली अस्तव्यवस्तः मन्त्री पोखरेल


-विश्वास नेपाली

१४ मंसिर, रसुवा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आज कालिका गाउँपालिका–३ स्थित सुन्धारा माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । जाइका नेपाल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा निर्माण भएका ९ कोठे भवनको उद्घाटन मन्त्री पोखरेलले गर्नुभएको हो ।

नवनिर्मित भवन उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, नेपालको शिक्षा प्रणाली अहिलेको कोभिड महामारीको कारण अस्तव्यवस्त हुन पुगेको छ । यसलाई सबै नेपाली भएर व्यवस्थित बनाउनु पर्छ । मन्त्री पोखरेलले भन्नुभयो, कोभिडले के सिकायो भने शिक्षा लिने दिने कार्य भर्चुअल माध्यमबाट पनि गर्न सकिने रहेछ, यसैले शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यार्थी र शिक्षकलाई प्रविधियुक्त सामग्री हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा गएको छ ।

सोही कार्यक्रमको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सुन्धारा मावि परिषरमा प्राविधिक शिक्षालय स्थापन गर्न सहयोग गर्नको लागि मात्र पत्र समेत पेश गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुँइकेल, प्रधानाध्यपक पूर्णचन्द्र भट्टराई र कालिका गाउँपालिका वडा नं. ३ का अध्यक्ष पुष्पराज न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । मन्त्री पोखरेलले माग पत्र बुझ्दै भन्नुभयो, प्राविधिक शिक्षालय स्थापना गर्नको लागि पहल लिने छु, आवश्यक प्रक्रिया पु¥याएर मन्त्रालय आउनुहोस् । उहाँले भन्नुभयो, नेपाल सरकार एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा छ, हालसम्म ६०० भन्दा बढी स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना भइसक्यो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुल प्रसाद भट्टले रसुवा जिल्लामा शिक्षा क्षेत्रको विकास गर्नको लागि शिक्षा मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, रसुवा भूगोलमा छरिएको र विद्यार्थीहरूले दुःख गरेर पढ्ने बानीको विकास हुँदै गएको हुँदा गाउँ गाउँमा सुर्वशुलभ शिक्षा गराउन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसको लागि संघीय सरकारले सहयोग गर्नुपर्छ ।

कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले भन्नुभयो, गाउँपालिकाले आफ्नै छुट्टै शिक्षा ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र शिक्षा प्रणाली व्यवस्थित गर्नको लागि अघि बढेका छौं । उहाँले भन्नुभयो, तर अन्य गाउँपालिका र नगरपालिकाले त्यस्तो शिक्षा नीतिहरू कायान्वयन नगरेको हुँदा आफूहरूलाई बनेको ऐन कानुन कार्यान्वयन गर्नको लागि पनि समस्या भइरहेको छ ।

मन्त्रीलाई शिक्षक महासंघ रसुवाको ज्ञापन पत्र
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई शिक्षक महासंघ, नेपाल जिल्ला समिति रसुवाले माग पत्र पेश गरेको छ । आज कालिका गाउँपालिका वडा नं. ३ स्थित सुन्धारा माविको नवनिर्मित भवन निर्माणको क्रममा रसुवा आउनुभएका मन्त्री पोखरेललाई भेटी शिक्षक महासंघ रसुवाका अध्यक्ष मोचनाथ न्यौपाने लगायत पदाधिकारीले ७ बुँदे माग राखी ज्ञापन पेत्र पेश गरेका हुन् ।

कालिका क्याम्पसलाई जग्गा व्यवस्थापन गरिदिन मन्त्री समक्ष माग पत्र
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई कालिका हिमालय क्याम्पसको व्यवस्थापन टिमले क्याम्पसको नाममा जग्गा उपलब्ध गराउनको लागि पहल गरिदिन माग पत्र पेश गरेको छ । आज कालिका हिमालय क्याम्पसमा आइपुग्नु भएका मन्त्री पोखरेललाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ घिमिरेले मात्र पत्र पेश गर्नुभएको हो । कालिका हिमालय क्याम्पस रसुवाको एक मात्र व्यवस्थित र सुविधा सम्पन्न बनाउने योजनाको साथ अघि बढेको अध्यक्ष मिघिरे बताउनुभयो, उहाँले भन्नुभयो, जिल्लाको केन्द्र भागमा रहेको विद्यालय भएको हुँदा यसलाई व्यवस्थित गरी शिक्षा सहज रुपमा लिने वातावरण बनाउनुपर्छ ।

क्याम्पसको लागि कालिका हिमालय माध्यामिक विद्यालयको नाममा रहेको जग्गाबाट ५ रोपनी जग्गा क्याम्पसको नाममा गराउन मन्त्री परिषद्को निर्णय आवश्यक हुने भएकाले विभागीय मन्त्री पोखरेललाई माग पत्र पेश गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

बच्छलादेविमा मन्त्री पोखरेलको अवलोकन
कालिका गाउँपालिका ३ बेतिनीमा रहेको बच्छलादेवि आधारभुत विद्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अवलोकन गर्नुभएको छ । शनिवार रसुवा आउनुभएका मन्त्री पोखरेलले उक्त विद्यालयमा पुगी त्यहाँ नयाँ आधुनिक प्रविधिको माध्यमबाट गरिएको पठन पाठन र प्रविधिको प्रयोग बारेको अवलोकन गर्नुभएको हो । विद्यालयका प्राधानाध्यापक नारायण देवकोटाले प्रविधिको प्रयोग कसरी गरिन्छ भन्ने बारेमा डेमो गरी देखाउनुभएको थियो ।

बच्छलादेवि आधारभुत विद्यालयले प्रत्येक कक्षा कोठामा प्रोजेक्टर जडान गरी इन्टरनेटको उपयोग गरी विद्यार्थीहरूलाई प्रविधि उपकरणको उपयोग सिकाई सहजता र सरलताको लागि व्यवस्थित शिक्षा प्रणाली सुरुवात गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार ०८:२६