१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

-प्रतीक ढकाल

घरभित्र पस्नासाथ म अवाक् बने । एउटा मूर्तिमा गएर ठोक्किएका मेरा आँखा त्यहाँबाट हट्नै मानेनन् । हठात् देखिएको यो स्थितिले मलाई एक किसिमको चक्कर नै लाग्यो— किनकि त्यो मूर्ति मेरै सहपाठी मित्र जसुदा राईको थियो । र, मूर्तिमा अर्पित माला र बलिरहेको दियोले उनी अब दिव्यात्मा भइसकेको कुरो कसैलाई नसोधेरै पनि बुझ्न सकिने स्थिति थियो । भोजराज भट्टजीसँग यस पूर्व पनि भेटघाट भइसकेको थियो— दुई/चार पटक नै । त्यो भेट गराइदिने व्यक्ति हुनुहुन्थ्यो— डा. खेम कोइराला बन्धु । त्यसको पनि एउटा स्मरणीय प्रसंग छ । “चीनको विचित्र चित्र” को भूमिका तयार भयो तर लिन चैँ तपाईं आफैं आउनुपर्छ है प्रतीकभाइ” भनेर जगदीश घिमिरेदाइले नै भनेपछि एक दिन म चोभार गएको थिएँ दाइलाई भेट्न । कुरैकुराको सिलसिलामा दाइले एउटा अनौठो कागज देखाउनुभयो जसमा आफ्नो आयुबाट आठ वर्ष कट्टा गरी जगदीश घिमिरेलाई थपिदिन परमेश्वरसँग आग्रह गरिएको थियो । कागज पूरै कानूनी रीत पु¥याएर तयार गरिएको थियो— दाताको फोटो, हस्ताक्षर र दायाँ–वायाँ औंठा छापको स्वीकृति सहितको एक जीवन्त इच्छापत्र ।

मनै उद्वेलित पार्ने यो कागजमा धेरै बेर अल्झेपछि दाइले भन्नुभयो— “यी भोजराज भट्टलाई चिन्नुहुन्छ ?”

चिनेकै थिएन त्यसबेलासम्म । त्यसैले भनेँ— “चिन्दिन दाइ ।”

“चिन्नू । यिनले पनि तपाईंले जस्तै हिमालतिरको यात्रा लेखेका छन् ।”

मनमा ‘भोजराज भट्ट’ भन्ने एउटा नाम बोकेर म चोभारबाट फर्किएँ । जिन्दगी आफ्नै गतिमा चल्दैथियो । यस्तैमा एक दिन पुतलीसडकमा भेटिएका डा. खेम कोइराला बन्धुले भन्नुभयो— “फुर्सद छ भने ‘भोजराज भट्ट’ लाई भेट्न हिँड्नोस् । ती तपाईंले भेट्नुपर्ने खालका मान्छे हुन् ।”

त्यो बेला म पनि ‘रातो पासपोर्ट’ मुद्दा लागेर निलम्बित थिएँ । विशेष अदालतबाट फैसला भइसकेको थिएन र एक हिसाबले फुर्सदिला दिनहरु बिताइरहेको थिएँ । डा. बन्धु नेपाली पर्वतीय साहित्यको गहिरो खोज र अनुसन्धान लाग्नुभएको थियो— त्यो बेला । वहाँको सम्पादित कृति “नेपाली पर्वतीय साहित्यः सृष्टिमाथि दृष्टि” भर्खर निस्केको वा निस्कने क्रममा थियो शायद । पर्वतीय साहित्य भन्ने बित्तिकै म पनि आकर्षित भइहालेँ र ‘मैले देखेको कैलाश मानसरोवर’ का लेखक भोजराज भट्टलाई त्यो दिन पहिलो पटक भेट गरियो ।

भट्टजीसँग जति पटक भेट भए पनि साहित्यिक विषयमा बाहेक अरु कुनै पनि विषयमा कुराकानी भएकै थिएन । मैले वहाँका कृतिहरु बमना रानाको कोट (२०६७), मैले देख्न पाएको कैलाश मानसरोवर (२०६८), मनरखनी (२०६८) र संघर्षका मेलाहरु (२०६८) जगदीशदाइलाई भेटेर फर्केपछि खेमदाइमार्पmत् नै पढिसकेको हुनाले त्यसैको लेखनशिल्पबारे मात्रै कुरा हुन्थ्यो । भट्टजीले पनि मेरा कृतिहरु हिमालपारि पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३) र सगरमाथाको आधारशिविरबाट (२०६४) पढिसकेका हुनाले तिनीहरुमाथि नै आफ्नो धारणा राख्नुहुन्थ्यो ।

जे होस्, यो अग्लो कदकाँठीको सुकिलो मान्छेसँग मेरो साहित्यिक मित्रता जम्दै गयो । पेशाले वकील भए पनि कालो कोटभित्रै एकदमै सुकिलो र भव्य व्यक्तित्व पाएँ मैले । अरु बेला वहाँको बानी के कस्तो थियो, मलाई थाहा भएन, तर जब डा. खेम कोइराला र मसँग भेट हुन्थ्यो वहाँ ज्यादै कम बोलेर हाम्रा कुरा सुन्नुहुन्थ्यो । खेमदाइलाई समेत रोकेर वहाँ मबाटै हिमालको प्रत्यक्ष वर्णन सुन्न चाहनुहुन्थ्यो ।

आफ्नै रुचीको क्षेत्र हुनाले मैले यात्रासाहित्यका किताब चैँ संकलन नै गरेर एक किसिमले स्थायी नम्बर नै दिएर राख्ने गरेको छु । भट्टजीका पनि ‘मैले देखेको कैलाश मानसरोवर’ ३९ नम्बरमा र ‘बैंशालु खप्तड’ २०६ नम्बरको पुस्तकका रुपमा मेरो दराजमा अहिले पनि सुरक्षित छन् । यस्ता रुचीकर विषयका लेखक आफ्नैअगाडि सशरीर उपस्थित हुँदा म पनि ज्यादै खुशी हुन्थेँ— र, सधैँ साहित्यकै, अझ विशेष गरी यात्राकै बारेमा कुराकानी हुन्थे ।

यसरी नै कहिले बाटोमा, कहिले अदालतको परिसरमा त कहिले चिया पिउने ठाँउमा भेटघाट भइसकेपछि एकदिन भट्टजीले भन्नुभयो— “प्रतीक सर, आज मेरो घर हेर्न हिँड्नु होस् । नजिकै छ ।” शायद हामी डिल्लीबजारको उकालोतिर हिँडिरहेका थियौँ क्यारे— वहाँले नै मैतीदेवीको मन्दिरमा पु¥याउनु भयो । त्यही मन्दिरबाट २/४ घर भित्र पसेपछि म वहाँको निवासमा पुगेको थिएँ । र, जब ढोका खोलेर भित्र पसेको मात्र के थिएँ— अकस्मात् आँखा जुधे अहिले नै बोलिहाल्लिन् जस्ती जसुदाको मूर्तिसँग ।

एकछिन त म केही बोल्नै सकिन । केही क्षणपछि आफैँलाई सम्हालेर भनेँ— “भट्ट सर, यो त जसुदा राईको मूर्ति होइन र ?”

“हो चिन्नुहुन्छ ?”

“किन नचिन्नु ? हामी त सहपाठी नै हौं । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका २०३५/३७ को ब्याचका विद्यार्थी । फ्याकल्टी फरक परे पनि हाम्रो ब्याच उही हो । कृष्ण धरावासी, बखत कठेत, कविता श्रेष्ठ (राई), म, प्रेमकला नेम्बाङ, झुमा देवान, यी जसुदा, भानु खनाल हामी मिल्ने साथी मात्र नभएर प्रायः जसो सँगै पनि हुन्थ्यौं । म्याराथन धावक बुद्धवीर लामा चैँ कुद्न थाल्थे— हामी भने बसेर गफ गथ्र्यौं । अझ बेलुकीको गफमा त जसुदाकी बहिनी करुणा समेत मिसिन आइपुग्थिन् कहिलेकाही त !”

“तर मलाई त यो कुरो त थाहै थिएन । तपाईंहरु सहपाठी हुनुहोला भनेर त कल्पनै गरिएनछ ।”

“मलाई पनि तपाईंहरुको दाम्पत्य र उनी बितेको कुरो थाहै थिएन । इलाम छोडेदेखि नै सम्पर्क टुटेको थियो । साह्रै ढिलो थाहा पाइयो । दुःख लाग्यो ।”

“देख्दादेख्दै यस्तै भयो…….।”

अनि बल्ल कथा सुनेँ उनै घाइते भोजराजबाट र बुझेँ— यी सुम्निमा र देवदत्तको प्रेम–कहानीका जसुदा कसरी पद्मकन्या क्याम्पसकी ‘अनेरास्ववियू’ की नेतृ बनिन्, भोजराज कसरी ल क्याम्पसका ‘नेविसंघ’ का नेता बने । प्रजातन्त्र प्राप्तिको लडाइँले यी दुवैलाई कसरी नजिक्यायो, कसरी एक बनायो, पूर्वको चिसो हावा र चियाबारीको शीतलतामा हुर्केकी एउटी चरी कसरी घनगढीको गर्मीमा पुगिन् र शिक्षिका बनिन्, कसरी जीवन जीवनजस्तै बन्यो, कसरी यो प्रेमले कांग्रेस र कम्युनिस्टहरुलाई समेत एक बनायो र कसरी सुम्निमा अल्पिएपछि यो देवदत्त आपैंmभित्र हजार ‘गौरी’ उमारेर पनि कसैलाई नदेखाई ‘देवदास’ बाँचिरहेछ !

कठै जिन्दगीको निःसारता ! कठै जिन्दगीको यो क्षणभंगूरता !!

पटक पटक उही कथा दोहो¥याइरहनु परेकोले होला— बरु भन्ने मान्छे स्थिर थिए, उनका आँखा सपाट थिए र यन्त्रवत् भनिरहेका थिए । तर मेरालागि यो एक अप्रत्यासित र ठूलो झट्का थियो र मेरा आँखाहरुमा मूल फुटिरहेको थियो ।
एउटी नानीले फलफूल काटेर ल्याइन् ।

“ठूली छोरी ऋतु यिनै हुन् ।” उनैले चिनाए । मैले तिनलाई पनि जसुदाजस्तै देखेँ । हाम्रो भेट भएको समयमा शायद आमा पनि यीजस्तै थिइन् होला । छोरीलाई देखेपछि मेरो मन पनि पूर्वस्मृतिमा तैरिन थाल्यो—

टुँडिखेलको ठीकमुनी एउटा ‘गोदके’ नेवारको घरमा हामी डेरा गरेर बस्थ्यौँ र पछि त्यसैलाई होस्टलको रुपमा विकास गर्यौँ । बजार सुरु हुने बित्तिकै जसुदाको घर आइहाल्थ्यो । यस हिसाबले हाम्रो बसाइ ३/४ मिनेटको दूरीमा मात्रै थियो । कलेज जाँदा हामी बीच बजारमा पुगेर सिटिहलको बाटो हुँदै जाने कुरै थिएन । हामी त टुँडिखेलमाथिको थुम्को चढेरै जान्थ्यौँ । त्यो थुम्कोमा मानिस हिँड्दा–हिँड्दा नागबेली आकारको बाटो नै बनिसकेको थियो । जसुदाहरु पनि त्यहीँबाट हिँड्थे । हामी तल्लो भेगका ‘गोलाखर्क’ सम्मका विद्यार्थीहरु पनि त्यही बाटो हिँड्थ्यौँ । टुँडिखेल र कलेजको बीचमा पर्नै त्यही थुम्कोको मध्य भागमा पर्ने एउटा घरमा तत्कालीन “पंचायत नीति तथा जाँचबुझ समिति” को मेची अंचल कार्यालय रहेको थियो । त्यो कार्यालयका अगाडि पुगेपछि हामी ठूलो ठूलो स्वरमा ख्वाकख्वाक् गरेर बाटोमा थुक्दै हिँड्थ्यौं । पञ्चायप्रतिको तीब्र घृणा र आक्रोशलाई व्यक्त गर्ने यस्तो माध्यमको विकास गरेका थियौँ हामीले । जसुदाले यो कुरो केटीहरुका बीचमा फैलाएकी थिइन् भने मैले केटाहरुका बीचमा । म त्यो बेला नै अनेरास्ववियूको जिल्ला कमिटीको सचिव भइसकेको थिएँ भने जसुदाहरु भर्खर प्रशिक्षित हुँदै थिए । झुमा देवान (हाल श्रीमती प्रदीप नेपाल) त त्यही बेला नै भूमिगत भइसकेकी थिइन् ।

भोक लागे खाजा खान कहिलेकाँही जसुदाकै बाबा ठाकुरसिंह राईले चलाएको रेष्टुरेण्टमा जान्थ्यौँ । भए तत्कालै पैसा तिथ्र्यौं, नभए उनी हामी सबैका ‘काका’ थिए, ङिच्च हाँसेर मैले नै भन्थेँ— “टि.एस. काका, भोलि दिन्छु है !” र, त्यो भोलि कहिलेकाँही त १५ दिनसम्म पनि आउँदैनथ्यो, कहिलेकाँही त छात्रवृत्तिको रकम नै पर्खनुपथ्र्यो, र पनि काकाले कहिल्यै हामीलाई अत्याउनु हुन्नथ्यो । कहिलेकाँही महेश बस्नेत (अहिलेका इलाम नगरपालिकाका मेयर) ले हामीले खाजा खाएको पुरानो पैसा समेत तिरिदिन्थे । उनकी बहिनी मुना र भाइ मंगेशले पनि हाम्रो समूहलाई माया गर्थे । यो परिवारको उपनाम ‘दिपबिम’ हामीलाई खूब मन पथ्र्यो किनकि यसमा दक्षिण भारतीय प्रचलनमा जस्तै आफ्ना बाजेको, बुबा–आमाको र आफ्नो समेत नामको पहिलो पहिलो अक्षर जोडेर बनाइएको थियो । शायद यो काम चैँ मदनदाइले गर्नुभएको थियो कि ? तर कहिल्यै पनि सोधिएन ।

धेरै संझनाहरु आए— इलामका । धेरै संझनाहरु आए— जसुदाका । हामी कसरी चियाबारीका नागबेली बाटाहरुमा पुगिरहन्थ्यौँ— कहिले एक्लै पनि र कहिले साथीहरुका साथमा पनि ! कृष्ण धरावासी प्रायः एक्लै टोलाउन रुचाउँदथ्यो— चियाबारीका बीचमा । म पनि टाढा टाढासम्म जान्थेँ एक्लै र हुलपत्तीमा चिया टिप्ने चेलीहरुसँग उनीहरुका दुःख सुखका कुरा गर्थें । बगानकौ बीचमा रहेको चिया कारखानाले कति राम्ररी ती ‘दुई पात एक सुइरो’ हरुलाई प्रोसेसिङ गथ्र्यो ।
तर जसुदाको यो रुपको जिन्दगीको प्रोसेसिङले भने मलाई पनि ठूलो धक्का दियो । आफ्ना समकालीन साथीहरुको मृत्युले झस्काउँदो रहेछ— नराम्ररी ।

हामी बैठक कोठाबाट उठ्यौँँ, छुट्टियौँ । बाहिर जान निस्केँ म । आँखा जसुदाको मूर्तिमै पर्यो फेरि पनि । तर यतिञ्जेलसम्ममा म पनि केही सहज भइसकेको रहेँछु क्यारे, मनमनै भने— “तिमी मरेकी छैनौ जसुदा । जसले यसरी पूजा गर्ने पति पाएको छ र जसले पुनर्विवाहका बारेमा कहिल्यै सोचेन, त्यस्तो मान्छेकी सहधर्मिणी तिमी, कसरी मर्न सक्छयौ र ? तिमी ‘राई’ र यी ‘भट्ट’ मिलेर त झन् एक भयौ— ‘भट्टराई’ । तिमीलाई कसैले पनि छुट्याउनै सक्दैन— यो सुकिलो वकिलको छातीभित्रको तिम्रो साम्राज्यबाट । तिमी अमर छ्यौ जसुदा !”

धेरै बेर हेरिरहनै सकिनँ र फटाफट बाहिर निस्केर जुत्ता लगाएर हिँडिहालेँ । मैतीदेवी मन्दिर परिसरमा पुगेर सोचेँ— “तिमी त मैतीदेवी मात्रै हौ माते, तर जसुदा त ‘नेपालमाता’ भइसकिन् अब । तिम्रै शरणमा रहेको यो जोडीलाई किन यसरी छुट्यायौ माते ?” मैतीदेवीको मूर्ति मौन रह्यो । मन्दिर परिसर पूरै शान्त रह्यो । आज म मात्र अशान्त रहेँ । आफूले आफैँलाई भोजराजको ठाउँमा राखेर हेरेँ— जिन्दगीको भीर साह्रै नै कहालीलाग्दो देखियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १६:०५