१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि


११ मंसिर, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा आजदेखि शुरू हुँदै छ । गत चैतकाे अन्तिम साता हुनुपर्ने साधारण सभा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि शुरू हुन लागेको हो । कोरोना संक्रमण जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै हुने छ ।

महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् । भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।


निर्वाचन कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फकाे मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा यस पटक व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । दुवै उम्मेद्वारले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०७:४५