८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोभिड-१९ विरूद्धको खोप दिने तयारी


८ मंसिर, काठमाडाैँ । अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको हो ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो । अमेरिका कोरोना सङ्क्रमणका हिसाबले विश्वमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन । पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ २ लाख ६२ हजार भन्दा धेरैको मृत्यु भइसकेकाे छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन्। दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन । यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ०७:१२