७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पार्टी संस्थागत भएन भन्ने नारायणकाजी गुटको प्रवक्ता मात्र बनेः उपप्रमुख थापा


६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीभित्रका परिभाषित जिम्मेवारीमा सिन्को समेत नभाँचेका नेताहरू नै पार्टी संस्थागत भएन भनेर रूवाबासी गर्दै हिडेको बताउनुभएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार समेत रहनु भएका उपप्रमुख थापाले पार्टीको परिभाषित जिम्मेवारीमा सिन्को पनि नभाच्नेहरू नै प्रधानमन्त्री र पार्टी अध्यक्षको सत्तोसराप गर्दै हिडेको बताउनुभयो ।

प्रचार विभागकै प्रमुख समेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संस्थागत भएन भन्दै सरकार र पार्टी नेतृत्वकोविरूद्धमा योजनाबद्ध प्रचारबाजी गरिरहेको सन्दर्भ सोही विभागका उपप्रमुख थापाले श्रेष्ठलाइ अाफूले गरेका संस्थागत काम देखाउन चुनाैति दिनुभयो ।

उपप्रमुख थापाले भन्नुभएको छ ‘नारायणकाजीजी मेरोविभागको प्रमुख मैले उहाँलाइ सात पटक भेटेर संस्थागत रूपले प्रचारको काम अघि बढाउँ भनेको छु । तर उहाँलाइ एक दिन पनि संस्थागत काम गर्ने फुर्सद छैन । गुटको प्रवक्ता भएर चाहिँ पार्टी संस्थागत भएन भनेर भन्दै हिड्नु भाछ । सुध्रनु पर्ने को ? उहाँ सुध्रनु पर्दैन ? पार्टीको परिभाषित जिम्मेवारीमा सिन्को पनि नभाच्ने प्रधानमन्त्री र पार्टी अध्यक्षको सत्तोसराप गर्दै हिड्ने अनि के सच्याउने ?’

उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा कुनै प्रस्ताव पेश नगरेको तर सदस्यहरूलाइ बाँडेको स्पष्ट पार्नुभएको छ । उहाँले प्रचण्डले बैठकमा प्रस्ताव पेश गरेको नभइ सचिवालय सदस्यलाई बाँडेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अर्का अध्यक्षले २८ गतेको बैठकमा त्यो प्रस्ताव प्रस्तुत गर्नुभएको होइन । उहाँले सचिवालयको सदस्यहरूलाइ बाँड्नु भएको हो । औपचारिक प्रस्तावको रूपमा, एजेण्डाको रूपमा वा सहमतिको प्रस्तावको रूपमा बैठकमा प्रस्तुत भएको होइन । मैले त्यसालइ अराजनीतिक प्रस्ताव भन्ने गरेको छु ।’

उपप्रमुख थापाले प्रचण्डले सचिवालय सदस्यलाई बाँडेको उक्त प्रस्ताव मिडिया खपतका लागि भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘मिडियाको खपतका लागि, प्रधानमन्त्री र पार्टी अध्यक्षलाइ बद्नाम गर्न, स्थापित पार्टीको नेतृत्वलाइ खुइल्याउनका लागि आफ्नो स्वार्थसिद्ध गर्न रचिएको प्रपञ्च थियो त्यो बैठकको प्रस्ताव थिएन । उहाँलाई त्यसरी प्रस्ताव ल्याउने अधिकार पनि छैन् । त्यो अनधिकृत हो, तथ्यहरूको भ्रष्टिकरण हो, गैरजिम्मेवारी हो र हाम्रो पार्टीको अध्यक्षको तहमा प्रकट भएको संस्कारहिनता पनि हो ।’

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०९:३३