दैनिकी

  • २ मंसिर २०७७, मंगलवार ११:५४

प्रचण्डले टोले गुण्डा र गँजडियाको भाषामा ओलीलाई कसरी गालीगलौज गर्न सके ?

-गणेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तावका नाममा राख्नुभएको ब्यक्तिगत बिचार पढेपछि एकाएक मनमा प्रश्न उठ्यो, के उहाँ नेकपाको अध्यक्ष नै हो त ? नेकपाको अध्यक्ष जस्तो गहन जिम्मेवारी महसुस गरेको ब्यक्तिले आफू भन्दा माथिल्लो बरियतामा रहेको आफ्नै पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीबिरुद्ध पार्टी एकता गर्दाको सहमति र पछिल्लो स्थायी कमिटी बैठकले गरेको निर्णय तथा आफैसमेत हस्ताक्षरकर्ता भई जारी भएको अन्तर पार्टी निर्देशन (अपानि) लाई ठाडै लत्याएर कसरी यति निकृष्ट आक्षेपसहितको एकल प्रस्ताव तयार गर्न सक्छन ?

आफैले हस्ताक्षर गरी गरिएको एकताबाट भाग्दै बिभाजनको आधारपत्र कसरी प्रस्तुत गर्न सक्छन ? देशको गुमेको भुगोल फिर्ता ल्याउने अभियानमा लागेको देशकै प्रधानमन्त्रीलाई टोले गुण्डा र गजडियाको भाषामा कसरी गालीगलौज गर्न सक्छन ? एकतादेखि अहिलेसम्म भएका सवै उपलब्धीलाई समाप्त पारेर देसी बिदेसी प्रतिक्रियावादीको चाहना पूरा गर्न पार्टी बिभाजनको आधारपत्र कसरी प्रस्तुत गर्न सक्छन ? यति निकृष्ट आरोप लगाउने ब्यक्ति हामीले आदरणीय नेता मानेको अनि अधिनायकवादी सोच परित्याग गरेर रुपान्तरण हुनुभएको अध्यक्ष प्रचण्ड नै हो त ? कि जनयुद्धकालिन आफ्नै सहकर्मीलाई कत्लेयाम गर्ने योजनाकार प्रचण्ड हुन ?

पत्रमा उल्लेखित सवैजसो निन्दा र भत्र्सना अनि कमरेडली भावनाबाट सयौं कोष टाढा पुगेको आपत्तिजनक आक्षेप र मनका कुण्ठा भेटिन्छ । उपलब्धीलाई छोपेर देशलाई निरासामा लैजाने अनि नेकपा भन्ने पार्टीको काम छैन, यस्को बिरुद्ध लाग्नुपर्छ भन्दै जनता भडकाउने प्रतिगामी सोच मात्रै देखिन्छ, अगाडि जाने बाटो त कतै भेटिन्न, भेटिन्छ त केवल पछाडि फर्कने आधार मात्रै । यस्तो बिभाजनकारी घोषणापत्र कार्यकारी अध्यक्ष कमरेडले किन लेख्नुभयो होला ? नेकपाको अव काम छैन, बिकल्प खोज्नुपर्छ भन्ने निश्कर्षमा के का आधारमा पुग्नुभयो होला ? उहाँको पार्टी बिभाजनकारी बिचार पढेर आश्चर्यमा पर्नेबाहेक अरु बिषय भेटिने कुरै भएन । उहाँको पत्र दोहोर्याई तेहेर्याई पढियो, प्रस्ताव त हुँदैहोइन रहेछ, रहेछ त केवल कुण्ठा, पार्टीप्रति आकर्षित नेता, कार्यकर्ता, जनताबिरुद्धको गद्धारी र नेकपा बिभाजन गर्ने घोषणापत्र मात्रै । पार्टीमा एउटा ब्यक्तिको चाहना प्रस्ताव हुँदैन, तर उहाँले आफ्नो कुण्ठालाई प्रस्ताव भन्दै युद्धकालिन अवस्थामा आफै सर्वेसर्वा, नमान्ने जति गद्धार भन्दै सहकर्मी कमरेडलाई सिध्याउने शैलीमै नेकपामा पनि ल्याउनु भयो । अर्थात अधिनायकवादी बनेर म जे भन्छु, जे लेख्छु, त्यही नै पार्टीको प्रस्ताव हो, यसलाई स्वीकार गर भन्ने अत्यन्तै आपत्तिजनक कुरा कार्यकारी अध्यक्ष प्रचण्डले गर्नुभयो ? जस्ले देशले खोजेको युद्धको धङधङी त्यागेको, आफ्नो बिरोध गर्नेलाई भौतिक रुपमा सफाया गर्ने बाटो छोडेको र देश र जनताको भावनाअनुकुल रुपान्तरण भइसकेको प्रचण्डको बिम्ब बिल्कुलै देखाएन ।

प्रस्तावका रुपमा आएपछि के गर्ने ? के नगर्ने भन्ने बिषय समावेश हुन्छन । तर उहाँको त्यो पत्रमा नेकपाले लिनुपर्ने बाटो, नेपाली कम्युनिष्ट आन्दोलनमा रुपान्तरणको पाटो र सरकार–पार्टी सम्बन्धका बिषयहरु कँहीकतै भेटिएन । भेटियो त फगत जनताको बहुदलीय जनवादको निन्दा, मदन भण्डारी फाउण्डेशनको निन्दा र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निन्दा अनि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा हुँन नदिने अठोटका साथ अघि बढेको उदघोषसहितको कुण्ठा मात्रै । अध्यक्ष जस्तो जिम्मेवारीमा रहेको ब्यक्तिको प्रस्तावमा बिगत दुई बर्षदेखि सरकार र कम्युनिष्ट आन्दोलनबिरुद्ध चालिएको अभियान पो भेटियो । उहाँको प्रस्ताव पढेपछि भन्नैपर्छ, सरकारबिरुद्ध त भारतदेखि सवै प्रतिक्रियावादीको एजेण्ट बनेर सरकारबिरुद्ध अभियान चलाउने पात्र त कमरेड प्रचण्ड पो हुनुहुँदोरहेछ । प्रस्तावमा ओली सरकारबिरुद्ध अहिलेसम्म भइरहेको, नेकपाबिरुद्ध अहिलेसम्म भएको सवै प्रहार र घेरावन्दीलाई सुत्रवद्ध गरेर कमरेड प्रचण्डले कम्युनिष्ट बिरोधीलाई ठुलै गुण लगाउनु भएको छ । यही पत्रले प्रचण्ड बोल्ने एउटा, नेतृत्व एउटा पार्टीको, काम भने अर्कै पो गर्नुहुँदो रहेछ भन्ने कुरालाई पनि छ्यांगै पारेको छ ।

आफ्नै भतिजलाई कांग्रेसबाट नेकपा प्रवेश गराएर राजदुत बनाउन सरकारलाई बाध्य पार्ने कमरेड प्रचण्डले त्यही पत्रमा प्रधानमन्त्रीमाथि आफन्तलाई नियुक्तिमा प्राथमिकता दिएको आरोप लगाउनु भएको रहेछ । प्रधानमन्त्री ओलीले कुन पदमा आफन्त नियुक्त गर्नुभयो ? भन्ने तथ्य खोज्दा नै प्रचण्डले लगाएको आरोप सतप्रतिशत झुटो हो भन्ने प्रमाणित हुन्छ । प्रचण्डले सवै आफन्त र परिवारका सदस्यलाई नियुक्ति दिलाउनु भएको छ, प्रधानमन्त्री ओलीले आफन्तलाई दिलाएको एक मात्रै प्रमाण दिन सक्ने अवस्था छैन । जनयुद्धका बेला आफ्नो कुरा नमान्ने जति सवैलाई यानप्रसाद गौतमको हालत बनाउनु भयो । बाबुराम र हिसिलालाई मार्नै लाग्नुभएको थियो, ज्ञानेन्द्र शाहको ‘कू’ पछि परिस्थिति फेरियो, तपाईंले मार्न सक्नुभएन । मोहन बैद्य, सिपि गजुरेल र उपेन्द्र यादवलाई भारतमा पक्राउ गराउने काम पनि त तपाई आफैले गर्नुभएको थियो भन्ने बिषय उहिल्यै खुलिसकेको होइन र ?

आलोकलाई कसरी सकाउनु भयो ? अनि आफूबिरुद्ध लाग्ने जति सवैको सूची बनाएर बेनी आक्रमणको नाममा भौतिक सफाया गराउने योजना पनि त तपाईंले नै बनाउनु भएको होइन र ? त्यो आक्रमणमा तपाईले मार्न पठाइएका एक कमाण्डर हाल नेकपाकी नेतृ पम्फा भुसाल अहिले पनि जिवितै हुनुहुन्छ । बेनी आक्रमणमा आफ्ना बिरोधी जति सवैलाई सफाया गराउने तपाईको योजनाको बिषयमा उहाँसँग एकपटक बहश गर्न सक्नुहुन्छ । सवै सफाया हुन भनेर तपाईंकै भाषामा दुश्मनलाई पहिला नै सूचना दिन लगाएर आफ्ना सहयोद्धाहरु कहिल्यै नफर्किउन भनेर पठाउनु भएको होइन र ?

बेनी आक्रमणको बिषयमा कुनै दिन ललितपुरको एक होटलमा नेतृ पम्फा भुसालले अग्रज पत्रकार राजन शर्मासँग आँसू झार्दै गर्नुभएको संवाद सुन्दा यो पंक्तिकार झसंग भएको थियो । छेवैमा बसेर दुई जनाबीच भएको त्यो संवाद संझदा अहिले पनि सरीरभरी काँडा उम्रन्छ । एउटा सहकर्मी, एउटा कमरेड यतिसम्म निकृष्ट पनि हुन्छन र ? त्यो संवाद सुनेपछि मनमा यही कुरा खेलिरहन्छ । पत्याउन सकिरहेको थिईन । तर पछिल्लो दस्तावेजपछि भुसालको त्यो भनाई सत्य रहेछ भन्ने निश्कर्षमा पुग्न बाध्य भएँ ।

सचिवालयमा प्रस्तावको नाममा प्रस्तुत गरी देसी बिदेसी प्रतिक्रियावादीको जानकारीका लागि सार्वजनिक गर्नुभएको कुण्ठापत्र पढेपछि तपाई कम्युनिष्ट हो भनेर कसरी मान्ने कमरेड ? युद्धकालमा नेतृत्वतिर आँखा लगायो कि आफ्नै सहकर्मीको निर्मम कत्लेयामलाई नै नेतृत्व जोगाउन जागरुक कम्युनिष्ट कार्यकर्ता भन्ने तपाईंको परिभाषालाई कसरी स्वीकार गर्न सकिन्छ र ? जे होस प्रचण्डले आफ्नो अनुहारको पर्दा त्यही प्रतिवेदनमार्फत खोल्नु भएको छ ।

पद र कुर्सीका लागि केसम्म गर्नुहुँदो रहेछ ? भन्ने जानकारी दिनुभयो । त्यही प्रतिवदनले हिजो माओवादी चार टुक्रा किन भयो ? त्यस्को मुल कारण के हो ? त्यस्को पर्दा पनि खुलेको छ । अर्थात कमरेड प्रचण्ड पद प्राप्ती, परिवार मोह र कुण्ठित चाहना पूरा गर्नका लागि क्रान्ति, देश, जनतालाई कसरी निर्मम रुपमा बली चढाउन सक्नुहुँदो रहेछ भन्ने पनि प्रष्टै पारेको छ । उहाँ नेता होइन, क्रान्ति र आफ्नैलाई सकाउने खलनायक हुनुहुँदो रहेछ भन्ने पनि प्रस्तावबाटै प्रष्ट भएको छ ।

मनमा प्रश्न उठेपनि कमरेड प्रचण्डले गर्नुभएको काम भने आँखा अगाडि नै छ । पत्याउन कर लाग्छ । सचिवालयमा प्रस्तुत गरी मिडियामा सार्वजनिक भएको प्रतिवेदन पढदा नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली जनताको भविश्य समाप्त पार्न चाहने जो कोहीलाई कमरेड प्रचण्ड साँच्चीकै महान लाग्छ, केपी शर्मा ओली मरिहालोस भनेर धुपबत्ति बाल्नेहरुलाई त झनै महान लाग्छ, प्रतिवेदनले केपी ओली किन नमरेको ? भन्ने उत्कट चाहनालाई पनि बाहिर ल्याएको छ । सहकर्मीको मृत्युको कामना गर्ने, देश बनाउन लागेकाहरुको भौतिक अवशानको प्रार्थना गर्ने जस्तो अति निकृष्ट मानवीयता, नैतिकता, इमान्दारिता हराएकाहरुले मात्रै गर्न सक्छन, कमरेड प्रचण्डको प्रतिवेदन तिनीहरुलाई महान लाग्न सक्छ ।

प्रतिवेदनले कमरेड प्रचण्डमा मानवीयता, नैतिकता, लज्जता केही रहेनछ भन्ने नै प्रमाणित गरेको छ । स्वार्थमा डुवेको, बिवेक कतै बन्दकी राखेको अनि नैतिकता र लज्जा हराएपछि मान्छे कमरेड प्रचण्ड जस्तै बन्छ भन्ने अनुभुति पंक्तिकारलाई पनि जाग्यो, अनि एकछिन तिनै लज्जा हराएको समुहको प्रतिनिधित्व गर्दै पंक्तिकारलाई पनि भन्न मन लाग्यो, क्यावात कमरेड प्रचण्ड, यस्तै महान काम गर्दै जानोस, कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नाेस ।

कमरेड प्रचण्ड, यी सव काम तपाईबाट जानजान भएको होइन ? तपाईं प्रतिक्रियावादीको गोटी बनेको होइन ? तपाईंमा अतिकत्ति पनि इमान छ भने चाँहि त्यो पत्रलाई क्षमायाचनासहित फिर्ता लिनोस । गल्ती स्वीकार गर्नाेस र भविश्यमा यस्तो काम गर्नेछैन भन्ने अठोट गर्नाेस । तपाईको प्रस्तावको नाममा आएको पत्रमा नेकपाको बिघटनको खाका छ, राष्ट्रिय स्वाधिनताको पक्षमा उभिनेको निन्दा छ, त्यसलाई मेटनोस । अनि दृढ अठोटका साथ भन्नोस, गुटबन्दी मुर्दावाद, प्रधानमन्त्रीबिरुद्धको घेरावन्दी मुर्दावाद, मलाई यस्तो लेख्न बाध्य बनाउने मभित्रै रहेको पदीय आशक्ति र बिदेसी मोह मुर्दावाद, परिवारवाद मुर्दावाद, नेकपा जिन्दावाद ।

तत्कालीन प्रेस चाैतारी नेपालका अध्यक्ष बस्नेत प्रेस संगठनको सहसंयोजक हुनुहुन्छ ।