७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यस्ता छन् पेट घटाउने उपायहरू


हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि पेट नै हो। पेटमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ। बढेको पेटबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन्। यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन्। एक पटक पेट लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले पेट घटाउन मद्दत गर्छ।

# फाइबरयुक्त खानाः हामीले खाने खानामा पाइने फाइबरले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ। घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ। साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडो, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदि हुन्।

# मदिरापान नगर्नेः मदिरापानले पेट बढाउने काम गर्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन्। यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापनमा पुर्ण राेक लगाउनुपर्छ ।

# उपबास बस्नेः उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो। वर्षको दुई चोटी ५ देखि ७ दिनको उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ।

# जडीबुटीको काडा पिउनेः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ। यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

# उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौंः उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

# तनाव व्यवस्थापन गरौंः तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्माेन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा प्mयाट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ। यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

# चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔंः प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

# घरेलु चिल्लोको प्रयोगः तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन्। यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ। उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ।

# कार्डियो एक्सरसाइज गर्ने गरौंः श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ। कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बर्न हुने हुँदा चाडै तौल एवं भुँडी घट्छ।

# निद्रा पुग्ने गरी सुत्ने गरौंः गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो। दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ। भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ। यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको प्रबन्धनतिर लागौं र भुँडी घटाऔं।

# सागपात एवं फलफूल खाने गरौंः बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ। शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ। सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणाली बोसो घटाउने दिशातिर कार्य गर्न थाल्छ।

# पेटको व्यायाम गरौंः भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो। भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्विस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ।

#कार्बोहाइड्रेटको प्रयोग कम गरौंः धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ। यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १४:४०