७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गुटबन्दीमा मस्त नेतालाई कटुता बिर्सेर एकताको बाटोमा आउन शंकर पोखरेलको आग्रह


२३ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको एकता महाधिवेशनको तयारीमा जुट्न पार्टीका सचिवालय सदस्यहरूमा अनुरोध गर्नुभएको छ । केहीबेरअघि सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले पार्टीलाई एकताबद्ध राखिराख्न एकता महाधिवेशनको तयारीमा जुट्नु पर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ । एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ फर्कनु होस् ।’

उहाँले सहमति भन्दा बाहिरबाट जित्ने कोशिश गलत भएको बताउनुभएको छ । पछिल्ला दिनमा दिनदिनै भैरहेका गुटभेलाका निर्णय र त्यही निर्णयको जगमा बसेर प्रधानमन्त्री समेत रहनुभएका पाटी अध्यक्ष केपी शर्मा अोलीसँग भैरहेको बार्गेनिङतर्फ इंगित गर्दै उहाँले विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ  फर्किन अनुरोध पनि गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो । तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार २२:०६