दैनिकी

  • २२ कार्तिक २०७७, शनिबार १०:५०

फूलबारीको जुके गणतन्त्र

-आस्था भट्टराई

घामले धरामा पाइला टेके । नयाँ दिनको आगमन भयो । आज सबेरै हिँड्नुपर्छ भनेर जीतेन्द्रसरले उर्दी जारी गर्नुभएको छ । त्यसैले सबेरै उठ्यौँ सबैजना । बाहिर बरण्डामा निस्कियौँ लुगा उठाउन । बाहिरको दृश्यले त मोहित नै पा¥यो । मोहित मात्र हो र, लट्ठै पो पा¥यो । रातिको सिमसिमे पानीले आकाश जम्मै धोएछ र हामीले लुगा धोएजस्तै मौसम छ्याङ्ग पारेर गएछ । चाँदी टल्किएजस्ता हिमाल त छ्याङ्गै देखिए । म त छातीभित्रै खुशी चुलिएर के गरुँ र कसो गरुँको अवस्थामा पुगेँ ।

रामकृष्ण ढकालले गाएको “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्” बोलको कालीप्रसाद रिजालको गीत आज मेरो जिन्दगीमा साक्षात भएर प्रकट भयो । जति हेरेर पनि नघाइने र पटक्कै धीत नमर्ने दृश्य छ । म त एकोहोरिएँ— हिमालकै मातले लट्ठिएँ । उभिएको उभियै भएँ । जिन्दगी नै सार्थक भएझैँ लाग्यो । यिनै हिमालहरु हेरेर जुनी बिताइदिऊँ भन्नेजस्तो पनि लाग्यो । सुष्मा लुगा उठाउन थाली । भन्दैछे— “ओइ ! लुगा त हिजो जस्तो सुकाको उस्तै पो छ त ?”

उसका कुराले मेरो ध्यान भङ्ग गराइदियो । मैले पनि लुगा उठाएँ । चिसा लुगा झोलामा कोचेरै ओर्लियौँ— ब्रेकफास्ट ग्रहण गर्न । खाने काम पनि सकिएपछि हिमालसितै तस्वीरहरु लियौँ ।

मन लुटिरहेकै छन् यी मोहनीदार हिमालहरुले ।

यहाँ पनि हामीलाई माला लगाएर भव्य विदाइ गरियो । आज चैँ हाम्रो टोलीमा एक थान नयाँ सदस्य पनि थपिएको छ— एउटा कुखुरो । आजको हाम्रो गन्तव्य फूलबारीमा कुखुरा नपाइने रहेछ । त्यही भएर सरले यहीँबाट व्यवस्था गर्नु भएको रे । बाबुरामदाइको बुई चढेर कुखुरो पनि अगाडि लाग्यो । नियुक्ति पाएकै दिन पथप्रदर्शकको काँधमा चढ्न सफल भयो यो बहादुर कुखुरो । हामी ग्याङ अफ फोर चैँ बाबुरामदाइ र त्यो कुखुरो दुवैलाई पच्छयाउँदैछौँ ।

अहिले हामी मानवनिर्मित गोल्फ कोर्सजस्ता हरिया चौरहरुमा हिँड्दैछौँ । भुइँ काफल, विभिन्न प्रजातिका फूलहरु र सर्प आकारका बोटहरु देखिँदैछन् यहाँ । कति त हिमाली जडिबुटी पनि होलान् । हाम्रो देशलाई प्रकृतिले यस्ता कुरामा साँच्चै नै धनी बनाएकी छिन् । तर हामी यस्ता जडिबुटी चिन्न नसकेर बर्सेनि अर्वौंको औषधी आयात गरिरहेर्छौँ । रसायनिक औषधीले त हाम्रो स्वास्थ्यमा त यतिकै असर पु¥याएकै हुन्छ, त्यहीँमाथि धनराशी पनि बाहिरिएको छ ।

सुन्दर चौरको बाटो हिँडिसकेपछि हामी उकालो चढ्ने ठाउँमा आइपुगेका छौँ । अरु दिन त उकालो भनेपछि त्यसै आतेस लाग्थ्यो, आज त झन् झोला पनि भारी छ । चिसा लुगाको गह्रुङ्गो भारी बोकेर सकी–नसकी हिँड्दैछौँ । आँखाबाट आँसु झर्न मात्रै बाँकी छ । मेरो सुद्धि पनि के भएको होला— यस्तो बाटो हिँड्ने मान्छेले त सकेसम्म झोला हलुको पार्नुपर्छ नि ! “दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले” भनेझैँ म आफ्नै हुस्सुपनलाई गाली गर्दै पाइला सार्दैछु ।

उकालो सकियो अब । सजिलो बाटोमा छौँ । घना वनको बाटो हिँड्न पाएर हर्षित छु म । तर जङ्गलको बाटो न हो— निकै ओसिलो छ । विभिन्न किसिमका जुकाले हाम्रो स्वागत पो गर्न थालिहाले । काब्राकेलीको बाटोमा त दुई÷चारवटा थिए, जोगिँदै हिँड्न पनि सकिने । यहाँ त उफ् कति हो कति गनेरै साध्य नहुने ! कुनै असाध्यै साना छन् । स्याउँस्याउँ गरिरहेका छन् । कुनै निकै ठूला छन् । ठूला जुका चैँ ३६० डिग्रीमा मुन्टो घुमाउँदै ल्याब्¥याक् ल्याब्¥याक् गरिरहेका छन् । हामी रक्तदाताहरुको आगमनले खुशी भएका छन् यी जुकाहरु । यस्तो सुनसान बाटोमा ३९ जनाको रक्तग्रहण गर्ने मौका मिलेको छ यिनीहरुलाई । यिनीहरुलाई दशैँ नै आएझैँ भएको होला । सरले जुकाको ओखती गर्ने उपाय सिकाइसक्नु भएका कारणले हामी पनि डर नमानी होशियार बन्दैछौँ । जुकाको मिसाइललाई ठेगान लाउने छेप्यास्त्रका रुपमा नुन बोकेका छौँ हामीले पनि र जुत्तामा छर्किदै वीर गोर्खाली अघि बढ्दैछाैँ ।

जुका जमिनमा मात्रै भइदिए त हुने नि, रुखबाट पनि बरङ्–बरङ् झर्दैछन् । जिन्दगीमा एउटा दुइटाभन्दा बढी जुका नदेखेकी मैले एकैचोटि यति धेरै सङ्ख्यामा जुकाको फौज नै देख्दा त सात्तो जालाझैँ भएको छ । कुन दिनमा आएँछुजस्तो पनि भएको छ यसबेला । तर जाबा जुकासँग डराएर फर्कने कुरो भएन केरे !

बाटो हल्का उकालो छ । साना–साना खोल्सा पनि बगिरहेका छन्— बाटोमा । हालेको नुन पनि बगाइदिन्छ खोल्साले । फेरि हाल्यो, एकछिनमा बगिहाल्छ । उकालो हिँड्दा– हिँड्दा स्वाँस्वाँ भएको छ । तर के गर्नु ? आराम गर्ने ठाउँ पनि त छैन कतै— जुकैजुका छन् जताततै ।

अहिले त हामी हिँड्नेभन्दा पनि कुदिरहेका छौँ । बाटो साँघुरो छ । बाटोमा आफ्नाअगाडि साथीहरु नै ठिङ्ग उभिए भने पनि उसलाईसमेत “बाटो छोड्” भनेर दगुर्दैछौँ । जुत्तामा टाँसिएका जुका झा¥यो अनि फेरि कुद्यो । वीर गोर्खालीकै सन्तान भए पनि कोही कोही साथीहरु त क्वाँक्वाँ रोएकै पनि सुनियो— यी सलहजस्ता जुकाको डरले ।

झण्डै चार घण्टाको हिँडाइपछि पहेँला फूलहरु फुलेको ठाउँमा आइपुग्यौँ हामी । यी सुन्दर फूल प्रकृतिले आफैँ फुलाइदिएकी रहिछिन् । जुका आतंकले त्रसित भएको मन यो प्राकृतिक बगैँचा देखेपछि फुरुङ्ग परेको छ । फूल टिपूँ–टिपूँ लागिरहेको छ, छन त— तर टिप्ने हिम्मत आए पो ! फूलमा पनि जुकै उफ्रिरहेका छन् । यो ठाउँ त जुकाकै साम्राज्य जस्तो पो लाग्यो । पक्कै पनि यो ठाउँ ‘लोकतान्त्रिक जुके गणतन्त्र’ नै हुनुपर्छ !

अलि पर एउटा घर देखिँदैछ । म साथीहरुभन्दा केही अगाडि छु । यहाँ उभिनुभन्दा बरु त्यही घरमा गएर साथीहरुलाई कुर्छु भन्ने ध्येयले म अघि बढेँ— त्यही घरतर्फ । म जादैँ थिएँ । एउटा गाई मेरै अगाडि आएर उभियो । त्यसको नाकका पोरामा जुकाले खाएका रहेछन्— रगत बगिरहेको थियो ।

मलाई अगाडि देख्नासाथ गाई त फ्वाँऽऽ गरेर झम्टिन पो थाल्यो । सातोपुत्लो गयो मेरो त । हातमा लट्ठी त थियो, तर होश गुमेछ । लट्ठी उज्याउनसम्म पनि सकिनँछु । बरु आमा भनेर चिच्याएँछु । आँखा आँसुले भरिएछन् । मान्छेले अप्ठ्यारोमा पर्दा कि त भगवानलाई पुकार्छ कि त आमालाई ! मैले पनि जन्मदात्रीलाई पुकारेँछु— अचेतनमै । मेरो हालत देखेर साथीहरु जोडले हाँस्न थाले । म पक्कै पनि रुन्थे होला तर साथीहरुको हाँसोले रुन दिएन । उनीहरु नजिक आएकाले मलाई आड पनि भयो । उनीहरुले नै गाइलाई भगाइदिए र हामी नजिकैको घरतर्फ लाग्यौँ । फूलबारी गेस्टहाउस रहेछ यसको नाम । पूरै जङ्गलका बीचमा एउटा मात्रै घर रहेछ यो । कस्तो शान्ति, विश्वासमा आधारित तर कति मीठो सुरक्षा । एक्लो हुनुको कुनै डर छैन यो घरलाई ।

नाम जस्तै यो ठाउँ त प्राकृतिक फूलबारी नै रहेछ । विभिन्न प्रजातिका फूल फुलेका छन् यहाँ । प्रकृतिको कलालाई पनि मान्नै पर्छ । कति सुन्दर बनाएर सजाउन सकेको होला— यो ठाउँलाई । उस्तै सुन्दर रहेछ यो गेस्टहाउस पनि । काठैकाठले बनेको । ठूलो पनि रहेछ । हामी सबै जना सजिलैसँग अटाइने । आज पनि हाम्रो टोली पहिलो नै भएको थियो यहाँ आइपुग्दा ।

यतिखेर गेस्टहाउसको बाहिर रहेको बेन्चमा बसेका छौँ । रमाइलो कुरो के भयो भने यत्रो जुकाघारीमा पनि मलाई एउटै जुकाले पनि टोक्न पाएनछ । साथीहरुलाई १५÷१६ ठाउँमा टोकेको छ । रगताम्मे छन् उनीहरुका खुट्टा त । म त भाग्यमानी नै भएँछु भन्ने सोच्दै जुत्ता–मोजा खोल्दै थिएँ । त्यहीँ भएको एउटा जुको चढिहाल्यो खुट्टामा । बोकेको नुन पनि सकिसकेको थियो । लठ्ठीले घोचेर बल्ल तल्ल तल झारेँ । रगत नै ननिस्किए पनि घाउ भने बनाउन भ्याइहालेछ । नमज्जाले चिलाउने रहेछ जुकाले टोकेको ठाउँमा । आजसम्म जुकाले टोकेको थिएन मलाई । जे होस्, यो नयाँ अनुभव पनि भयो ।

चिसा लुगा झिकेर सुकाइसकेपछि हामी लाग्यौँ आफ्नो कोठामा । केही बेर आराम गरेपछि लाग्यौँ पेटपूजा गर्न । खाना खाइसक्दा पनि एक मात्रै बजेको छ । हाम्रो आजसम्मको यो चारदिने यात्रामा सबैभन्दा छिटो गन्तव्यमा पुगेको दिन पनि आजै हो । गर्ने काम पनि केही छैन । फूलबारी अवलोकन गर्न निस्केको भए पनि हुन्थ्यो । तर आजको जुका आतंकले हामी चारैजना नराम्ररी तर्सिएका छौँ । र, केही गर्ने जाँगर नै चलको छैन ।

कोठामा गएर दुइटा खाटमा पल्टियौँ । कोठाको झ्यालबाट सुन्दर बगैँचा र धौलागिरि हिमालको मनोहारी दृश्यतिर नजर डुलाउँदै रमाइरहेका छौँ । बाहिरै गएर हेर्न पाए झन् कति राम्रो देखिन्थ्यो होला— तर जुकाकै डरले जाँदै गइएन । बरु कोठाभित्रै बसेर मित्रताको संसारमा रम्न र गफिन थाल्यौँ ।

हाम्रो कोठासँगै टाँसिएको कोठामा बस्नुभएको रहेछ जीतेन्द्रसर र आशिषदाइ । प्लाइउडले छुट्टिएका थिए हाम्रा कोठा, यता बोलेको उता प्रष्टै सुनिने र उता बोलेको यता प्रष्टै सुनिने । उहाँहरु दुवै जना सुत्न खोज्नुभएको रहेछ । तर हाम्रो हल्लाले निदाउन दिएनछ । एकछिन पछि दाइले उतैबाट “अलि सानो स्वरमा बोल है” भन्नुभयो । हामी सकेसम्म सानै स्वरमा गफिन थाल्यौँ ।

गफ गर्ने विषय पनि सकिएपछि हामी अन्ताक्षरी खेल्न थाल्यौँ । सुरक्षा र म एकटोली, लक्ष्मी र सुष्मा अर्को टोली । दुई घण्टा जति खेलिसकेपछि भने हामी बाहिर निस्कियाँै । यसो भान्सातिर हेरेको त आशिषदाइ त्यहीँको बेन्चमा सुतिरहनुभएको रहेछ । दाइ हाम्रो हल्लाका कारणले ओर्लिएर आएर यहाँ यति बिजोगसित सुत्नुभएछ । दाइको हालत देखेर साह्रै नरमाइलो लाग्यो र आफूले गरेको हल्लायुक्त कर्मप्रति लज्जित पनि भयौँ ।

बाहिर बसिरहनु भएको रहेछ गेस्टहाउसका मालिक । उहाँसगैँ चिनजान गर्ने र यहाँको बारेमा बुझ्ने रहरले उहाँकै छेउमा गएर बस्यौँ ।
“अङ्कल ! हजुरको नाम के हो ?”
“मेरो नाम त चिमबहादुर मगर हो नानी ।”
“कहिलेदेखि चलाउनुभएको यो गेष्टहाउस ?”
“दश वर्ष पूरा भयो ।”
“को को हुनुहुन्छ त साथमा ?”
“हामी बुढाबुढी र एउटा छोरा हो । छोरा चैँ काठमाडौँमा बसेर पढ्छ । बिदाका बेलामा यहाँ आएर सघाउछ ।”
“अनि यो जुकाघारीमा बस्नु पर्दा दिक्क लाग्दैन ?”
“हामी त जुकाका साथी हौँ । चिनेजानेकालाई जुकाले टोक्तैन त नानी, तपाईंहरुजस्ता नौला पाहुनालाई चैँ खूब माया गर्छन् क्या !”
“यस्तो अनकण्टार ठाउँमा सामानहरु कसरी ल्याउनु हुन्छ त ?”
“खच्चरले ओसार्छन् नि सामानहरु त ।”
चिम अङ्कलका कुरा सुनेर ज्यादै रमायौँ हामी । यो ठाउँलाई डाँडाखर्क पनि भनिने रहेछ र समुद्री सतहबाट २८०० मिटरको उचाइमा रहेछ । चिम अङ्कलको घर रिमागाउँमा रहेछ । यहाँ भने गेस्टहाउस सञ्चालन गरेर बस्नु भएको दश बर्ष भएछ । उहाँ भन्दै हुनुहुन्छ— “टुरिष्ट सिजनको बेलामा त सास फेर्ने पनि फुर्सद पनि हुँदैन । हिँउदको मौसममा चैँ जाडोले बस्न सकिन्न, पर्यटक पनि खासै नआउने भएकाले गाँउतिरै झर्छौं ।”

आशिषदाइ पनि निद्रा पु¥याएर आउनुभयो— अब चैँ । अब गाली खाइने भइयो भन्ने डर थियो । तर आशिषदाइ त हामीलाई हेर्दै मुस्कुराउनुभयो र भन्नुभयो— “तिमीहरुलाई एउटा टपिक दियो भने कम्तीमा चारघण्टा त मज्जाले गफ गर्न सक्ने रहेछौ, हैन त ?”

हामीले पनि दाइका कुराले चित्त बुझायौँ र हाँस्यौ मज्जाले ।

मौसम चिसिन थाल्यो र जाडो भएको महसुस भयो । हामी पनि कोठामा फर्कियौँ— न्याना लुगा लगाउन । अनि लाग्यौँ भान्सातिर— आगो ताप्न । भान्साको नजिकैको डाइनिङमा आगो ताप्ने माटोको मकल बनाइएको रहेछ । त्यहीँ बसेर आगो ताप्दै थियाँै, खाना पकाउने ठाउँबाट चिरपरिचित आवाज आयो । यसो हेरेको त हाम्रा साथीहरु अनिता, अस्मिता र गंगा त माया आण्टीलाई खाना पकाउन सघाउँदै पो रहेछन् । ठीकै भयो, साथीहरुले पकाएको चाख्न पाइने भयो भनेर दङ्ग प¥यौँ ।

चिसो भएका कारणले अरु साथीहरु पनि आगो ताप्न आइपुगे । चिम अङ्कल पनि छोरालाई समेत लिएर हामी भएको ठाउँमै आइपुग्नुभयो । छोराको नाम विवेक रहेछ । विवेक त राम्रो गायक नै हुनुहुँदो रहेछ । गितार बजाउँदै सुरिलो स्वरमा नेपाली पपगीतहरु गाउनु भयो । हामीले पनि गायनमा साथ दियौँ । करिब एक घण्टाको रमाइलो कार्यक्रमपछि खाना तयार भयो । हामीसँगै चार घण्टाको बाटो पेरुङ्गामा बोकिएर आएको कुखुरो हाम्रालागि शहीद भइसकेको रहेछ । साथीहरुले मीठो खाना तयार गरेका रहेछन् । थपी–थपी खायौँ ।

चिम अङ्कलको परिवारको सद्व्यवहार, सेवा र सत्कारले खुशी भयौँ हामी । आफ्नै घरजस्तै लाग्यो उहाँको परिवार । अरु ठाउँमा त लज, होटलहरुले कामदारको व्यवस्था गरेका हुन्थे । यहाँ भने सबै चिम परिवार नै खटिएको छ । हामीले पनि यो स्नेहिलो माया गर्ने परिवारलाई दुःख नदिने योजना बनायाैँ र भाँडाकुँडा आफैँ माझ्ने निर्णय ग¥यौँ ।

कामधन्दा सकेर लाग्यौँ कोठातिर । सदाझैँ फेरि हाम्रो खुट्टा माड्ने काम सुरु भयो । खुट्टाले आराम पायो । जीउलाई पनि आराम दिन ओछ्यानमा पल्टिएका हामी एकै चोटि बिहान मात्रै ब्यूझिँयौँ ।