६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

शिक्षामन्त्री पोखरेलको अनुभवः कोरोनालाई हल्का रुपमा नलिनुस्


-गिरीराजमणि पोखरेल

मलाई असोज २२ गते देखि उच्च ज्वरो आउन थाले पछि २४ गते पाटन अस्पताल भर्ना भएको थिएँ । कोभीडको परिक्षण गर्दा २५ गते रिपोर्ट पोजेटिभ आयो। अनन्तत म पनि माहामारीको रूपमा विश्वभरी फैलिएको कोभिड १९ बाट संक्रमित हुन पुगे । स्वास्थ स्थिति प्रतिकुल हुँदै गएपछि डाक्टरहरुको टिमले प्रोटोकल अन्तर्गतको औषधि चलाउने निर्णय गर्नुभयो। ७ दिनको डोजले स्वास्थ केही सहज भएपछी १०औं दिन होम आइसोलेसनमा बस्ने सर्तमा पाटन अस्पतालबाट घरमा फर्केको थिएँ।

संक्रमित भएपछि पुन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएपछि थप एक हप्ता होम आइसोलेसनमा बसी २१औं दिन पछि तेस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो र कोरोना संक्रमणबाट मुक्त हुन पुगेको छु।पाटन अस्पतालका डाक्टरहरुको उपचार,आयुर्वेदिक औषधि र योग ध्यानको माध्यमबाट मैले कोरोनाको दुष्प्रभावलाई कम पारेको मेरो बुझाई छ । तथापी कोरोनाको कारण स्वास्थ्यमा परेको अन्य असर बारे स्वयं अवलोकन र डाक्टरहरुसङ्ग परामर्शमै रहेको छु।

यस्तो जटिल परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर काम गरिरहनु भएका स्वास्थकर्मिहरुको भुमिका र उहाँहरुको अप्ठ्यारो थाहा थियो नै।अस्पतालको बसाईको क्रममा अझ नजिकबाट उहाँहरुको मेहनत र निरन्तर खटाई बुझ्ने अवसर मिल्यो।संक्रमीत भएर फेरि काममा फर्केर निरन्तरता दिएको उहाँहरुको युद्धस्तरको काम गराइलाई नजिकबाट अनुभुती गर्ने अबसर मिल्यो। अस्पतालमा कार्यरत स्वास्थकर्मीहरु र उनका परिवारजन समेत संक्रमीत भएका कारण जनशक्ति अभावका बिच पाटन अस्पतालले गरेको ब्यबस्थापन उच्च मुल्यांकन योग्य छ।

उपचारको क्रममा प्रत्यक्ष सहयोग पुर्याउने पाटन अस्पताल परिवार विशेष गरी डा.पारस आचार्य, डा. युबराज शर्मा,डा. केशब सिग्देल,डा.मार्क जिम्बर लगाएत सम्पुर्ण डाक्टरहरुको टिम साथै नर्सिङ प्रमुख शान्ता डंगोल, नर्स शुभद्रा गौतम सहित सम्पुर्ण स्वास्थकर्मीहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।साथै निरन्तर परामर्श दिनु हुने डा.रामकण्ठ मकाजु, डा.श्रीकृष्ण गिरि,डा.दिनेश चन्द्र पोख्रेल,डा.सुजन बाबू मरहठा,डा.राजेन्द्र कोजु,डा.सन्तोष शाक्यलाई आभार व्यक्त गर्दछु।

त्यस्तै नरदेवी आयुर्वेदिक अस्पतालका डा.सिद्दार्थ ठाकुर,किर्तिपुर आयुर्वेदिक अनुशन्धान केन्द्रका डा.रामआधार कापर र डा.निर्मल भुसाल,आयुर्वेद क्याम्पसका डा.बिरेन्द्र यादव,ओजस अस्पतालका नारायण आचार्य, होलिस्टिक हेल्थ तथा वेल्नेस कोच प्रेरणा शाहहरुको सल्लाह र सहयोग मेरो लागि महत्वोपुर्ण रह्यो।पाटन अस्पतालमै रहेको बेला फोक्सोको फिजियोथेरापी सिकाउनुहुने वीर अस्पतालका सुजित सिंह र श्याम यादवलाई पनि धन्यवाद दिन चाहन्छु।

होम अईसोलेसन र अस्पतालमा उपचारको क्रममा आबस्यक ब्यवस्थापन गर्नु हुने शिव फुयाल,सुशीलाजी,आफू संक्रमीत रहदा रहदै हेरचाह गर्ने छोरी अस्मि लगायत आधारशिला परिवारका सदस्यहरुलाई पनि बिशेष धन्यवाद दिन चाहन्छु । आईसोलेसनमा रहेको बेला स्वास्थ्य लाभको कामना गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननिय प्रधानमन्त्री, सम्माननिय सभामुख, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा, नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगाएत नेताहरु, उप-प्रधानमन्त्री ईश्वर पोख्रेल, लगायत माननीय मन्त्री ज्यूहरु, पुर्व सभामुखहरु सुभाष नेम्वाङ र कृष्ण बहादुर महरा, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरू देश भित्र र बाहिरका मेरा प्रियजन हरु, परिवारजनहरु, पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु, पत्रकार मित्रहरु, मन्त्रालयका सचिवहरु साथै विभिन्न तह र तप्कामा रहनु भएका कर्मचारी मित्रहरू, सचिवालयको टीम लगाएत विभिन्न माध्यमबाट शुभकामना सन्देश पठाउने सबै-सबैमा हार्दिक आभार ब्यक्त गर्दछु।

साथै अस्पताल र होम आईसोलेसनमा रहदा अन्लाईन मिटिङ्ग मार्फत मन्त्रालय सम्बद्ध काममा सहजिकरण गरिदिनुहुने मन्त्रालयका सचिवहरु लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । नेपाल भित्र संक्रमीतको संख्या बढी रहेको अहिलेको अवस्थामा हामी अप्ठ्यारो स्थिति मै छौ। सरकारले लागू गरेको मापदण्डहरुलाई अक्षरश: पालना गर्दै अधिकतम सचेतना अपनाएर यो महामारी माथी जित हासिल गर्नु हामी सबैको मुख्य दायित्व रहेको छ।

मेरो अनुभवमा कोरोनालाई हल्का रुपमा लिनु हुदैन तर संक्रमित भएमा आत्ति हाल्नु पनि हुदैन । उमेर अनुसार कोरोनाको प्रभाव फरक रहेकाले ज्वरो आउने बित्तिकै नजिकैको अस्पतालमा सम्पर्क गर्नु अति आवश्यक छ । अस्पतालले बनाएको मापदण्डलाई कठोर अनुशासनमा बसेर पालना गर्दा कोरोनालाई जित्न सकिने रहेछ ।

अझ फोक्सोमा समस्या भएका सन्क्रमितले उचित विधि अप्नाएर फोक्सोको स्थिती यकिन गर्दै फोक्सो सम्बन्धि फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ।अस्पतालको मापदण्ड, योग ध्यान र आयुर्वेदलाई समेटेर समग्रमा कोरोना संक्रमणलाई जीवन पद्धति परिवर्तन गर्ने अवसरको रुपमा लिदा कोरोना माथी जित हासिल गर्न मद्द्त मिल्छ भने दीर्घकालीन रुपमा समेत हितकर रहन्छ।
सचेत रहदा रहदै पनि म लगाएत मन्त्रालयका १६ जना साथीहरु संक्रमित हुन पुग्यौं । एउटा सानो गल्तीले पनि ठुलो संकट निम्त्याउने रहेछ भन्ने पाठ कोभीडले हामिलाइ दिएको छ। त्यसैले हामी सबै उच्च सतर्क बनौँ, स्वस्थ रहौँ।

(पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुनुहुन्छ ।)

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०८:४९