दैनिकी

  • २० कार्तिक २०७७, बिहीबार १७:२४

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित

२० कात्तिक, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ । प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा विसं २०१८ मा प्रथम पटक प्रकाशन भएको थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवं उत्कृष्ट सिर्जनालाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताउनुभयो ।

चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमूना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकका लागि समेत उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा जगमान गुरुङले विश्वास व्यक्त गर्नुहभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पाठकको माग एवं बहुमूल्य र विशिष्ट महत्वका पूर्व प्रकाशित कृतिलाई पुनः प्रकाशन गरिँदै जाने बताउनुभयो ।