४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै


७ कात्तिक, डडेल्धुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनासरम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।

विगतवर्षमा दशैँको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाडालगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौँसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरेपनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ ।

कोभिड – १९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भीडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताउनुभयो ।

विगतवर्षमा जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस बर्ष दैनिक ५० देखि ६० सवारी साधन मात्रै सञ्चालनमा रहेको उहाँको भनाइ थियो ।

ट्राफिक प्रहरीले चाडबाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यकरूपमा दुःखदिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख देवबहादुर खत्रीले वताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुहरूको सहजताका लागि जिल्लाका तीन स्थानमा नागरिक सहायताकक्ष स्थापना गरिएको छ ।”

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १५:५९