१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नुवाकोटको ककनीमा १० बेडको अस्पताल बन्ने, जनताको दैलोमै सेवा पुर्याउन प्रयत्नरत छाैँः सांसद मैनाली


२ कातिक, नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा १० बेडको अस्पताल यसै वर्ष निर्माण सुरू हुने भएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपाैवामा रहेको ककनी प्राथमिक स्वास्थ्य केन्द्रलाइ नै १० बेडको अस्पतालमा स्तरोन्ती गर्ने निर्णय भएको गाउँपालिकाको प्रमुख मानबहादुर लामाले जानकारी दिनुभयो ।

शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १० बेडको अस्पताल निर्माणका लागि ककनीलाइ यसै वर्ष ६० लाख रूपैयाँ निकास गर्ने निर्णय गर्नुभएको अस्पताल निर्माणका लागि पहल गर्नुहुने सोही क्षेत्रका सांसद बद्री मैनालीले जानकारी दिनुभयो । मैनालीले स्वास्थ्यमन्त्रीलाइ धन्यवाद दिँदै १० बेडको अस्पताल निर्माणका लागि स्थानीय वातावरण तयार गर्ने काममा सबैले सहयोग गर्ने बताउनु भएको छ ।

मैनालीले निर्वाचनको समयमा गरिएका प्रतिवद्धाताहरू क्रमश पूरा गर्दै जाने चरणमा रहेको बताउनुभयो । उहाँले जनताको बीचमा गरिएको बाचा इमान्दारिताको साथ पूरा गर्न लागिरहेको भन्दै भन्नुभयो ‘यो सरकार बनेपछि त्रिशुली अस्पताल समेत चिकित्सकले भरिएको बताउनुभयो । यसअघि अस्पताल दरबन्दीलेमात्र भरिन्थ्यो । नुवाकोटमा दरबन्दी राखेर काठमाडौँमा क्लिनिक चलाएर बस्थे तर अहिले चिकित्सकहरूले अस्पतालमै बसेर सेवा दिइरहनुभएको छ ।’

सांसद मैनालीले अघि भन्नुयो ‘विभिन्न रोगका जटिल शल्यक्रियाहरू त्रिशुली अस्पतालमै सुरू भएको छ । विशेषज्ञ चिकित्सकहरूले अस्पतालमै बसेर सेवा दिन सुरू गर्नुभएको छ । अस्पतालको नयाँ सुविधासम्पन्न भवन समेत निर्माण भएको छ । कान्ति बाल अस्पताल र मानसिक अस्पतालको सेवा समेत हरेक साताको मंगलबार त्रिशुली अस्पतालमै पाइने भएको छ । यसरी हामी जनताको घरदैलोमै स्वास्थ्य सुवाको पहुँच पुर्याउन लागि परेका छौँ । अब सामान्य उपचारका लागि पनि काठमाडाैँ जानुपर्ने बाध्यता छैन भने त्रिशुली अस्पतालको गेटमा पुगेको बिरामी सिधैँ रिफर हुने अवस्थाको पनि अन्त्य भएको छ।’

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ०९:१९