७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कीर्ते मेडिकल रिपोर्ट बनाइ शिक्षकबाट निबृतिभरण ! अशक्तले निजी स्कुलमा कसरी पढाए ?


-प्रतिमा ढुंगाना 

२९ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका सचिवालय सदस्य यमप्रसाद खतिवडाले शिक्षकबाट निबृतिभरण लिनका लागि कीर्ते मेडिकल रिपोर्ट तयार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ घर भएका खतिवडाले निबृतिभरणका लागि समय पुर्याउनका लागि गम्भीर शारिरीक अशक्तता भएको भन्दै कीर्ते मेडिकल रिपोर्ट तयार परेको आयोगमा परेको उजुरीको उल्लेख गरिएको छ ।

तस्बीरमा खतिवडालाइ निबृतिभरण दिने शिक्षामन्त्रीस्तरीय निर्णय, अख्तियारमा दर्ता भएको उजुरीको नम्बर र यमप्रसाद खतिवडा ।

दैनिकीमा प्राप्त उजुरीको प्रतिलिपिमा यही असोज २३ गते आयोगमा दर्ता भएको देखिन्छ । उक्त उजुरीमा भनिएको छ ‘साविकको जिलिङ गाविस वडा नम्बर ३, हाल बेलकोटगढी नगरपालिका वडा नम्बर ८मा रहेको कल्याणीदेवी माध्यामिक विद्यालयमा कार्यतर रहेका खतिवडाले २०६५ साल कात्तिक २६ गते कीर्ते मेडिकल रिपोर्ट तयार गरी मेडिकल बोर्डबाट सिफारिस गराइ २०६५ साल मंसिर २ गते शिक्ष मन्त्रालायबाट मन्त्रीस्तरीय निर्णय गराइ निबृतिभरण लिएको जानकारी गराउँछु ।’ खतिवडा कहिले पनि विद्यालय नै जान नसक्ने र नमिल्नेगरी अशक्त नभएको र नरहेको दाबी उजुरीमा गरिएको छ ।

२०४८ साल जेठ १ गतेबाट शिक्षकमा सेवाप्रारम्भ गरेका खतिवडाले १७ वर्ष ६ महिना १ दिनमै निबृतिभरण लिएको देखिएको छ । उनले निबृतिभरणका लागि २० वर्ष नपुगेका कारण गम्भीर शारिरिक अशक्ताको कीर्ते मेडिकल रिपोर्ट तयार गरेको उजुरीमा दाबी गरिएको छ ।

शिक्षा नियमावालीको नियम १३२ को अवकाश सम्बन्धी विशेष व्यवस्थाको दुरूपयोग गर्दै खतिवडाले निबृतिभरण लिएको उजुरीमा भनिएको छ । शिक्षा नियमवालीको नियम १३२ मा शारिरीक अस्वस्थ्यताको कारण देखाइ नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले सिफारिस गरेमा पाँच वर्षम्म सेवा अबधि थपेर निबृतिभरण दिन सकिने प्रावधान रहेको छ ।

शिक्षा नियमावलीमा रहेको अवकाश सम्बन्धी व्यवस्था ।

खतिवडाले राजनीतिक पहुँचको दुरूपयोग गर्दै कीर्ते मेडिकल रिपोर्ट तयार पारेको बुझिएको छ । उनले तत्कालीन नेकपा एमालेको जिल्लादेखि केन्द्रसम्मको नेतृत्वको प्रयोग गरेर कीर्ते मेडिकल रिपोर्ट मेडिकल बोर्डबाट सिफारिस गराइ निबृतिभरण लिएको दाबी उजुरीमा गरिएको छ । उजुरीमा खतिवडाका लागि कीर्ते कागजात तयार पार्नमा संलग्न भएकाहरुलाई समेत अनुसन्धानको दायरमा ल्याइ कारबाहीगर्न समेत माग गरिएको छ ।

खतिवडाले कीर्ते मेडिकल रिपोर्ट तयार गरी कल्याणी माविबाट निबृतिभरण लिए पनि पछि विदुर नगरपालिका बट्टारमा रहेको स्वभिनियर बोर्डिङ स्कुलमा काम गरेका थिए । सरकारी जागिर खाना शारिरीक अशक्ता देखाएका खतिवडाले पेन्सन खान थालेपछि स्वभिनियरमा पढाएका कारण पनि उनले निबृतिभरणका लागि तयार पारेको मेडिकल रिपोर्ट कीर्ते रहेको प्रष्ट हुन्छ ।

कीर्ते कागजत तयार पारी निबृतिभरण लिएका खतिवडा अहिले नुवाकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद नारायणप्रसाद खतिवडाको स्वकीय सचिवको नियुक्ति लिएर दोहोरो सुबिधा समेत लिइरहेको उजुरीबामा दाबी गरिएको छ । उजुरीमा भनिएको छ ‘यसरी राज्यको तर्फबाट कानुनविपरित दोहोरो सुविधा बापत लिएको रकम समेत निज खतिवडाबाट राज्य कोषमा फिर्ता गराइ हदैसम्मको कारबाही गर्न माग गर्दछु ।’ अख्तियार दुरूपयोग अनुसन्धान अायोगले उजुरी माथि अनुसन्धान अघि बढीसकेको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ११:५७