१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पार्टी एकताको सहजिकरण कार्यदलमा दीपक बोहरा नियुक्त


२५ जेठ, काठमाडाैँ ।  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले उक्त कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई आज नियुक्त गर्नुभएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उक्त कार्यदलको सदस्यमा नेतात्रय विक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ । पूर्वपञ्च परिवेशका अधिकांश नेता संलग्न तीन राप्रापाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि समान वैचारिक दृष्टिकोण भएका पार्टी तथा समूहसँग सहकार्य र समन्वय गरिरहेका छन् ।

पछिल्लो समय राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), डा प्रकाचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पाटी (राष्ट्रवादी) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका शीर्ष नेता तीनवटै पार्टी एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्यमा हुनुहुन्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १६:४७