६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

झण्डै १० हजार सुरक्षाकर्मीमा कोरोना संक्रमण


२८ असोज, काठमाडाैँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कुनै क्षेत्र र वर्ग अछुतो रहन सकेको छैन । नेपालमा कोरोना संक्रमणले सुरक्षाकर्मीहरू पनि प्रभावित भएका छन । नेपालका १ लाख १५ हजार ३५८ जना संक्रमित हुँदा झण्डै १० हजार सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सम्ममा ९ हजार ७ सय ७१ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार १० जनाले कोरोना माथि विजय प्राप्त गरेका छन । अहिलेसम्म २ जना सुरक्षाकर्मीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपाली सेनाका ३ हजार २०६ जना संक्रमित भएका छन भने उनीहरू मध्ये १ हजार ७०८ जना नको भैसकेका छन । अहिले १ हजार ४९६ जना कोरोना संक्रमणको उपचार गराइरहेका छन । मन्त्रालयका अनुसार अहिलेसम्म २ जना सैनिकले कोरोना कारण ज्यान गुमाएका छन ।

त्यस्तै सशस्त्र प्रहरीका १ हजार ४२३ जनामा कोरोना संक्रमण भएकोमा १ हजार ११८ जनाले कोरोना जितिसकेका छन । सशस्त्र प्रहरीमा अहिले ३०५ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै नेपाल प्रहरीमा ५ हजार १४२ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ३ हजार १८४ जना निको भैसकेका छन भने १ हजार ९ ८५ जना सक्रिय संक्रमित रहेका छन ।

अहिलेसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ९ हजार ७७१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ हजार १० जनाले कोरोना जितेपछि अहिले ३ हजार ७८६ जना कोरोना संक्रमणको अवस्थामा रहेका छन । उनीहरू विस्तारै कोरोना मुक्त हुने चरणमा रहेका छन । कामको सिलसिलमा सबैजसो सुरक्षाकर्मी कोरोना संक्रमणमा परेका हुन ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०९:२८