१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने, कांग्रेसको माग पूरा


२५ जेठ, काठमाडौँ । संसद बैठक आज दिँउसो १ बजे बस्दैछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्ने तयारी गरिएको छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सत्तापक्ष पछि हटेको बुझिएको छ ।

अब फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने भएका छन । नियमावलीमा रहेको निलम्बन भन्ने शब्द हटाएर मस्यौदा संसदमा पेश हुँदैछ । अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो ।

तर तत्कालीन नेकपा एमालेका सांसदहरुले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए । सत्तापक्षले संशोधनसहित नियमावली पारित गर्न खोजेपछि कांग्रेसले असहमति जनाएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १२:४०