७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पूँजिवाद र समाजवादः पकाउने र पस्किने


-मधु लोहनी

हामि हिडेको बाटो कता हो ? नेपालको समाजशास्त्रका शिखर विद्धान प्रा.चैतन्य शर्मा पनि यही प्रश्नमा कन्फ्युज्ड रहेछन् । नेपालको संविधानले एकदमै अमूर्त बाटो वनाइदियो –‘लोकतान्त्रिक समाजवाद’ । समाजवाद अनेक खाले छन् । औद्योगिक क्रान्तिको चरम विकाससँगै अर्थशास्त्रलाई परिभाषित गर्ने अनेक मेलोमेसो शुरु भए । सुस्त आर्थिक विकासको ठाउँमा द्रुत आर्थिक विकासले ठाउँ लिएपछि उत्पादन र वितरणका मुद्धाहरु र तीनमा राज्यका भूमिकाहरुका बारेका बहस प्राथमिकतामा आए ।

मार्क्स र एंङ्गेल्स भन्दा अगाडी पनि समाजवादीहरु थिए । उत्पादन र वितरण व्यक्तिवादी तर वितरण समाजवादी हुनुपर्ने रोवर्ट आवेन जस्ता ती अर्थशास्त्रीहरुको तर्क थियो । कार्ल मार्क्सले १८४८ को कम्युनिष्ट घोषणापत्र लेख्नुअघिका यस्ता समाजवादीहरुलाई काल्पनिक समाजवादी भनिदिए । मार्क्स र एङ्गेल्सको त कुरै भएन । दुई सय वर्ष यता सवैभन्दा बढी चर्चामा रहेको आर्थिक राजनीतिक दर्शन मार्क्सवादी दर्शन नै हो । समाजवादलाई व्याख्या गर्ने तेस्रो मोटो धारका रुपमा लेनिन र रुसलाई मान्न सकिन्छ । १९१४ मा आएर लेनिनले पूँजीवाद ढल्ने क्रममा छ भनिदिए र रुसी समाजवादी क्रान्तिको मोडेल अगाडी सारे । स्टालिन यसको गाडी अगाडी वढाए ।

चौँथो धारको रुपमा समाजवादको अर्को मोटो धार फेवियन समाजवादीहरु पनि छन् । पाँचौ खाले समाजवादीका रुपमा चिनमा माओ आए । सेतो र कालो विरालोको रङ्गमा नअलमलिन तर उत्पादन, समन्यायिक वितरण, रोजगारीको सृजना जस्ता कुरामा जोड दिन छैटौँ समाजवादी अवतार वोकेर देङ्ग स्याओ पिन आए । कल्याणकारी राज्यको अवधारणामा जोड दिएका स्केन्डिभियन र उत्तर पश्चिम युरोपका देशहरु प्नि सातौँ खाले समाजवादीमा नै पर्छन् ।

टोनी व्लेयर, विपि कोइराला, जयप्रकाश नारायण, मदन भण्डारी, प्रचण्ड, केपी ओली, शेरवहादुर सवै समाजवादी नै भन्छन् । हुँदाहुँदा हाम्रो संविधानले पनि समाजवादी बाटो समात्यो । हाम्रो देशमा समाजवाद यति पपुलर छ कि यसको विधि र प्रक्रियाका बारेमा छलफल गर्नु पनि राज्य विप्लव जस्तै हुन्छ । चैतन्य मिश्रको ‘लोकतन्त्र र मार्क्सवाद’ भन्ने पुस्तक यहि विप्लव गर्ने ‘दुस्साहास’ सहित उपस्थित छ । दुइ दशक यता विभिन्न पत्रपत्रिकामा आएका लेख रचना र अन्तरवार्ता सम्पादन गरेर राजेन्द्र महर्जनले बुक हिलमार्फत यो पुस्तक सार्वजनिक गरेका छन् ।

मार्क्स आफैँले तत्कालिन समयमा (१८४८, कम्युनिष्ट घोषणापत्र) तत्काल राज्यका नियन्त्रणमा उत्पादनका सवै साधनहरु लिने कल्पना गरेका थिएनन् । उनी त वजारका पक्षपाती थिए । वजारलाई परिपक्व भएर पूँजिवादलाई हुर्कन दिने मत उनको थियो । पूँजिवादको चरम विकासपछि समाजवादको संक्रमण हुने विषय त माक्र्सले छ्ङ्गै भनेका थिए । तर, लेनिनले रुसी समाजवादी क्रान्तीको घोषणा गर्दा पुँजिवाद डुव्न लागेको घोषणा गरिदिए ।

लेनिनले नैं मार्क्सलाई वुझेनन् भन्ने निष्कर्श मिश्रको छ । १९१४ को त्यो घोषणा पछिका सय वर्षमा संसारमा पूँजिवाद डुवेको हैन्, झन उँभो लागेको छ । मिश्र यसलाई ‘भ्रान्तिका सय वर्ष’ भन्छन् । पूँजीवादको चरम विकास हुन नदिइकन समाजवादी आन्दोलन गर्ने खेलमा संसारको खासगरी कम्युनिष्ट आन्दोलनका सय वर्ष विते भन्ने विस्मात मिश्रको छ । माओले चिनमा जापानी उपनिवेश विरुद्ध विकास गरेको नौलो जनवादी क्रान्ति र राज्यका नियन्त्रणमा उत्पादनका सवै साधनहरु परिचालन गर्ने फ्लप कार्यक्रम चलाए । आजको चिनको प्रगतीको आर्थिक मोडेल माओको हैन्, देङ्ग स्याओ पिङ्ग को हो ।

नेपालमा समाजवादी वन्ने गन्तव्य घोषणा भयो । तर गोरेटोका वारेमा सघन मात्र हैन्, छिपछिपे बहस पनि भएको छैन् । गन्तव्य हराएको जहाज बनेको छ नेपाली समाज । र, गन्तव्यका वारेमा कुनै छलफल पनि भएको छैन् । पूँजिवादलाई प्रचुर मात्रामा विकास गर्न नदिइकन समाजवाद तर्फको संक्रमण सम्भव नै छैन् । यो त वच्चा नजन्माइ वा गर्भाधान नगरीकन उसको न्वारान गरिदिने तरखर जस्तो हुनजान्छ । २०७२ सालको संविधान आउनुअघि समाजवादलाई तत्काल वाहिरै राखेर ‘सामाजिक लोकतन्त्र’ को पक्षमा मिश्रले वहस गरेको देखिन्छ । संविधानमा नै ‘समाजवाद उन्मुख’ खाले कुरा आएपछि पूँजिवादको चरम विकास गर्ने र त्यसपछिको समाजवाद तर्फको संक्रमणमा उनको तर्कहरु प्रखर छन् ।

तत्काललाई सचेत र जिम्मेवार पूँजिवादी उत्पादन प्रक्रियालाई जोड दिने चैतन्यको चेतना हो । रोजगारीको सृजना, करको संकलन, आर्थिक गतिविधीहरुको सघनतावाट सामाजिक न्याय स्थापना गर्न सकिन्छ । लोकतन्त्रलाई दलतन्त्रले खानलागेको गुनासो आम मानिसको गुनासो नैं हो । समाजशाश्त्रीय र अर्थ शाश्त्रीय कोणवाट राजनितिलाई वुझ्ने चलन हामिकँहा कम छ । कमजोर चेतना भएको समाजमा छलाङ, अवतार र महानायकी सजिलै विक्छन् ।

मिश्र ऐतिहासिकतामा विश्वास गर्ने मार्क्सवादी हुन् । कार्य र कारण विनाका कुरा वास्तवमा हावादारी गफ हुन् । तर, हाम्रो आम चेतना कार्य र कारण तिर पस्ने झण्झट उठाउन चाहाँदैन् । यो उसका लागि ‘वोरिङ्ग’ च्याप्टर हो । त्यसैले त यहाँ एकाएक आउने राष्ट्रवादको बहादुर कथाले ‘सय खत माफ’ गरिदिन्छ । ग्रेटर सपनाले रोमान्चित बनाइदिन्छ । हाम्रा राजनितिका सेल्स म्यानहरु यँहा के विक्छ भन्ने कुरामा वहुत प्रष्ट छन् । राजनितिका उपभोक्ताहरुलाई सोही अनुसारको डेलिभरी यँहा फटाफट भइरहन्छ ।

मार्क्सले नदेखेको जमानालाई मार्क्सवादी दृष्टिकोणवाट हेर्नुपर्ने राय मिश्रको छ । हाललाई कम्युनिष्ट पार्टीको आवश्यकतालाई नकारेका छन् उनले । नेपाली राजनितिका झण्डै दुई दशकलाई विभिन्न समयमा गरेका विश्लेषणहरुको यो संगालोले आजको हाम्रो समाज वुझ्ने समालोचनात्मक चेतलाई थप फराकिलो वनाइदिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार ०८:२५