६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

तातोपानी नाका असोज १९ देखि खुल्ने, चालक र मजदूरको २८ जनाको टोली तयार


१३ असोज, सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी हुनुहुन्थ्यो ।

फाइल तस्बिर।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । चिनियाँ पक्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार यसअघि जाँच गरिएका सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदूरको पाँच­पाँच दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिनुभयो । तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिनाभन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनिँया राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार २२:०२