१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

धौलागिरि अस्पतालको स्तरवृद्धि गर्न स्वास्थ्य मन्त्रालयले दियो एक करोड रुपैयाँ


१३ असोज, बाग्लुङ । धौलागिरि अस्पतालको स्तरवृद्धिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । पचास श्यया क्षमताको अस्पताल स्तरवृद्धि गरेर १ सय ५० श्यया क्षमताको बनाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रमार्फत अस्पतालको स्तरवृद्धिका लागि विनियोजित रकमको जानकारी अस्पताल प्रशासनलाई गराएको छ ।

श्यया खरिद, व्यवस्थापन र अस्पतालमा श्यया थप गर्दा आवश्यक सामग्री खरिदको लागि मन्त्रालयले उक्त रकम अस्पताललाई पठाएको हो ।“स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त भएको छ कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अख्तियारी आएपछि खरिद प्रक्रियामा लाग्छौं”, अस्पतालका प्रमुख डा। शैलेन्द्र बि। पोखरेलले भन्नुभयो, “अख्तियारी अनुसारको तयारीमा हामी छौं ।”

अस्पतालको स्तरवृद्धिका लागि बजेट विनियोजन भैसकेको भएपनि जनशक्ति भने अस्पतालमा छैन् । पचास श्यया क्षमताको अस्पतालका लागि ७८ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीसमेतको दरबन्दी छ । “अस्पतालको श्यया बढेपछि जनशक्ति पनि बढाउनु पर्छ”, उहाँले भन्नुभयो “यसका लागि प्रदेश सरकारले सर्वे गर्ने भनेको छ ।” श्यया अनुसारकै जनशक्ति थप भएमा मात्रै पूर्ण क्षमतामा सेवा प्रवाह गर्न सकिने उहाँले बताउनुभयो ।

पच्चीस रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा तीनवटा भवन, आवास र सडकसमेत पर्छ । पछिल्लोपटक निर्माणको काम भैरहेको ‘सि’ व्लक भवनको काम समयमा सकिएमा मात्रै अस्पतालको क्षमता विकास गर्न सकिने जनाइएको छ । “सि व्लक निर्माण गरिरहेको कम्पनीले आगामी मंसिरसम्ममा भवन हस्तान्तरण गर्छु भनेको छ ”,उहाँले भन्नुभयो “त्यो भवन बनेमात्रै केही कम्प्रमाईज गरेर विस्तार गर्न सकिन्छ ।”

अस्पताल व्यवस्थापन समितिले पूर्वाधारको तयारीका लागि सबै तहमा पहल थालिसकेको छ । समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “हामीले प्रदेशदेखि केन्द्र र स्थानीय तहमा समेत पहल थालेका छौं, श्यया थप्नु मात्रै सेवा थप्नु होइन, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि पनि पहल भैरहेको छ ।” विसं २०६९ देखि निर्माण थालिएको अस्पतालको ‘सि’ व्लक भवन निर्माणाधिन अवस्थामा छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अस्पताललाई दुई सय श्यया अस्पताल बनाउने उल्लेख थियो । गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेपछि केही श्यया थप गरेर यहाँ कोरोनाका बिरामीको उपचार भैरहेको छ । साविकको धौलागिरीका झण्डै ६ लाख सर्वसाधारणले उपचार गराउने यस अस्पतालको स्तरोन्नती अपरिहार्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउनुहुन्छ । कोरोना महामारी पूर्व अस्पतालमा दैनिक ३ सयबढी बिरामीको उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार २१:१७