१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कुकुरको टोकाइ, रेबिज रोग र बीमा


-अनुजकुमार श्रेष्ठ

आज विश्व रेबिज विरुद्ध दिवस । रेबिज बहुला कुकुरको टोकाईबाट सर्ने एक प्राण घातक रोग हो । घरपालुवा कुकुरलाई सुरक्षित तरिकाले सरसफाइ गरि ध्यान दिएर राख्नुपर्छ। तर जतिसुकै सावधानी अपनाए पनि कुकुरले टोकेमा गम्भीरतापूर्वक उपचार गर्नु जरुरी हुन्छ। शहर बजारमा सहज उपचार भए पनि दूर दराजका गाउँहरुमा उपचारको अभावमा धेरै मानिसहरुले कुकुरको टोकाईबाट हुने रोगको कारण ज्यान गुमाईरहेकाछन् ।

ककुरको टोकाई पछि हुने पानीदेखि डराउने रोग नै रेबिज हो। हाईड्रोफोवियाबाट ग्रसित भै स्वास्थ्य चौकी र ठूलाठूला अस्पतालहरुमा मानिस उपचारको लागि धाउने गर्दछन्। पाँचदेखि एघार पटकसम्म सुई लगाएर रेबिजको उपचार गरेको भुक्तभोगीहरु बताउँछन्। तर घरमा पालेको कुकुरले टोकेको अबस्थामा साधारण सुईमात्रै लगाएको अनुभव म स्वयंले गरेको छु।

एक पटक सानो छँदा रसुवा जिल्लाको राम्चेमा कुकुरले टोकेको थियो त्यसबेला खास सुई लगाएको र उपचार गरेको याद छैन । अलि ठूलो भएपछि नुवाकोट जिल्लाको बट्टारमा स्कुलजाने बेलामा कुकुरले टोकेकोले सापकोटा मेडिकलमा एउटा सुई लगाएको स्मरण छ । साधारणतया कुकुरले टोक्दा कुकुरको स्वास्थ्य अवस्थाले रोगको संक्रमण हुने कुरा देखिन्छ। र्याल काड्ने, अलि आक्रामक, पुच्छर लुकाएर एक्लै बस्ने कुकुरहरु बिषालु हुने भनाइ छ। तर कुकुरको टोकाई पछि जेजस्तो भएपनि साबधानी पुर्वक उपचारमा लाग्नु उचित हुन्छ।

हामी कुकुरबाट मात्रै रेबिज सर्ने कुरा गर्छौ। रेबिज भन्ने बित्तिकै कुकुर सम्झन्छौ। तर बिरालो, मुसा लगायतको टोकाई पनि भयानक हुन सक्छ। केही वर्ष अगाडि जुनवेला म एउटा अन्तर्राष्ट्रिय जीवन वीमा कम्पनीमा काम गर्थें । त्यस बेलाको एउटा घट्ना सधैं दिमागमा घुमी रहन्छ । बैतडीका एकजना शिक्षकले जीवन वीमा गराउनु भएको थियो । वीमा गराएको एक वर्षमै वहाँको निधन भयो। विमितको निधन पश्चात् दावी भुक्तानीको प्रक्रिया अगाडि बढ्यो । नियमअनुसार आवश्यक कागजपत्रहरु तयार भयो।

वीमालेख अनुसार कुकुरको टोकाईबाट विमीतको मृत्यु भएमा दुर्घटना मानिने उल्लेख थियो । रोगका कारण मृत्यु भएको अवस्थामा भन्दा दुर्घटनाका कारण मृत्यु हुदा विमाङ्कको दोब्बर भुक्तानी हुने भएकोले मृतकको हकवालाले दोब्बर भुक्तानी पाउनुपर्ने दावी थियो । तर वीमा कम्पनी दोब्बर भुक्तानी दिन तयार थिएन । किनकी कम्पनीको दावी रोगको कारण मृत्यु हो भन्ने थियो ।

यस विषयमा लामो विवाद भए पछि म स्वयं कम्पनीको दावी विभागमा दबाब दिन गए । दावी विभाग प्रमुखको कुरा सुनेर म छक्क परे । किनकी स्थानीय अस्पतालले मृतकको मृत्युको कारण हाईड्रोफोवियाको कारण भएको हो भनि उल्लेख गरेको थियो । र प्रहरी प्रतिबेदनमा कुकुर जस्तो देखिने जनावरले टोकेको भन्ने उल्लेख थियो । हाम्रो दावी कुकुरले टोकेको कारण मृत्यु भएको हो भन्ने थियो । तर अस्पतालले भने अनुसार हाईड्रोफोविया एउटा रोग हो ।

कुकुरको टोकाईबाट संक्रमित गाई भैँसीको दूध सेवनबाट अथवा संक्रमित जनवारको मासुबाट पनि रोग सर्न सक्छ। यदि यस्तो अवस्थाबाट मृतकको मृत्यु भएको हो भने साधारण मृत्यु हुने तर्कमा म नाजवाफ भए । साँच्चै यो सोचे भन्दा फरक तर्क तर वास्तविकतामा आधारित थियो। पछि दावी विभागको प्रमुखनै बैतडी पुगेर स्थलगत विवरण र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा कुकुरले टोकेकै कारण हाईड्रोफोविया भएको हो भन्ने पुष्टि भएपछि दूर्घटना सुविधा सहितको दावी भुक्तानी भएको थियो ।

हामी रेबिज रोग कुकुरको टोकाईबाट मात्रै सर्छ भन्ने विश्वासमा रहन्छौ। तर कुकुरले टोकेको गाई भैसीको दूध र खसी बोकाको मासुबाट पनि रेबिज सर्न सक्छ। तसर्थ उच्च सावधानी अपनाउनु उपयुक्त हुनेछ। रेबिज एक प्राण घातक रोग हो, जुन उपचार पछि निको हुन्छ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १५:३९