१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कारबाही गरेर १ करोड ९६ लाख राजश्व संकलन


२३ जेठ, दाङ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिनुभयो ।

“संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र समन्वयको काम गदैआएको छ,” उहाँले भन्नुभयो, “अनुगमनको क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाहीसमेत थालेका छौँ ।” नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् तथा चोरी निकासीमा २६ जेसीवी, २४ टिप्पर र ३४९ ट्र्याक्टरको प्रयोग गरेको अनुगमनका क्रममा खुलेको छ ।

चालु आवमा ‘इआए’ र ‘आइए’ भएका जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता भएर काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । विपत्बाट मात्र अहिलेसम्म १ करोड ९६ लाख २२ हजार राजश्व संकलन गरिएको छ । विपत्को क्षेत्रमा भएको सो कामले यस वर्ष जिल्लाभर एक हजार बिगाहा जमिनलाई सुरक्षित गराउन सकिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

नदीजन्य पदार्थको उत्खनन्को काम असार एक गतेदेखि पूर्णरुपमा बन्द गरिने समितिले जनाएको छ । समितिले जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको पनि नियमन थालेको छ । जिल्लामा सञ्चालन भएका २७ वटा क्रसर उद्योगको अनुगमन गर्ने काम भएको र क्रसर उद्योगमा खरिद रसिदको परिमाणभन्दा बढीको कच्चा पदार्थ भण्डारण गरेर राखिएको पाइएकाले करको दायारामा ल्याउन सबै क्रसर उद्योगलाई पत्राचार गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १८:२९